काठमाडौं, कात्तिक १३। नेतृत्वले खराब निर्णय ग-यो भने पार्टी संगठनमा कस्तो असर पर्छ भनेर हेर्नका लागि धादिङ गए हुन्छ । एमालेले ‘लालकिल्ला’ दावी गरेको धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा १ अन्तर्गत पर्ने क्षेत्रमा ‘लाल कमरेडहरु’ एमाले उम्मेदवारको बिरुद्ध घर दैलो कार्यक्रममा व्यस्त छन् ।
आफुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘हनुमान’ दाबी गर्नेहरु समेत अहिले ओलीको निर्णयलाई चुनौति दिँदै स्वतन्त्र उम्मेदवार नेत्र पौडेलको तुल ब्यानर बोकेर मैदानमा उत्रिएका छन् । जिल्लामा समन्वयकारी नेताको रुपमा चिनिएका पौडेल ४ दशकदेखी एमालेमा सक्रिय छन् ।
अघिल्लो प्रदेशसभा निर्वाचनमा यस क्षेत्रबाट पौडेलको नाम एकल सिफरिश भएको थियो । प्रतिनिधी सभा निर्वाचनमा राजेन्द्र पाण्डेले लगातार जित्दै आएको ठाउँमा भुमी त्रिपाठीले टिकट पाएपछि पाण्डे उम्मेदवार बिहिन बने । प्रतिनिधीसभामा टिकट नपाएपछि अन्तिममा पाण्डेले गुटै फेरे र प्रदेशसभाको टिकट लिए । आफ्नो टिकट खोसेपछि शान्त स्वभावका पौडेलले बिद्रोह गर्ने हिम्मत गरेनन् । अन्तिममा पाण्डैकै लागि भोट माग्दै हिँडे ।
यसपालीको निर्वाचनमा एमाले महासचिव शंकर पोखरेलले नै पौडेलका लागि टिकटको पहल गरेका थिए । सम्बन्धित कमिटीबाट उनको नाम एक नम्बरमा सिफारिश पनि भयो । तर, अध्यक्ष ओलीले एमालेका बाग्मती प्रदेश कमिटी सदस्य एवं केन्द्रीय युवा तथा खेलकुद विभाग सदस्य रमेश आचार्यलाई टिकट दिए ।
पार्टी निर्देशन मानेको भए यतिबेला पौडेल रमेश आचार्यको तुल ब्यानर बोक्दै ‘सूर्य चिन्हमा भोट हालौं है’ घर दैलो कार्यक्रममा ब्यस्त हुनु पथ्र्यो । तर, त्यसो गरेनन् । स्वतन्त्र उम्मेदवारी दिए । निर्वाचन आयोगले बिजुलीको चिम चुनाव चिन्ह दियो ।
अहिले उनी ‘यसपाली सूर्य हैन बिजुलीको चिममा भोट हालौं ।’ भन्दै कार्यकर्ताको ताँती लिएर हिँडेका छन् । एमाले कार्यकर्ताको दाबीलाइ मान्ने हो भने यस क्षेत्रमा अहिले एमालेको सूर्य भन्दा पौडेलको बिजुलीको चिमको चमक बढी छ । राजधानी दैनिकबाट