Logo

सरकारप्रति महेश बस्नेतको आक्रोश, जरैदेखि उखलेर फाल्नुपर्ने भनाई



भक्तपुर, १३ कार्तिक । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नम्बर २ प्रतिनिधिसभातर्फ उम्मेदवार महेश बस्नेतले वर्तमान गठबन्धन सरकारले मुलुक र विकासको होलीडे मनाएको भन्दै आक्रोस पोखेका छन् ।

एमाले सूर्यविनायक नगरकमिटी वडा नम्बर ५ ले आज (आइतबार) आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् । उनले दिगो विकासको लागि केपी ओली नेतृत्वको सरकारले मुलुकलाई विकासोन्मुख राष्ट्रको रुपमा स्थापित गराएको स्मरण गराए ।

उनले ओली नेतृत्वको सरकारले मुलुकलाई छिट्टै विकासित बनाउने अभियान चलाएतापनि वर्तमान गठबन्धन सरकारले विकासको विदा मनाइरहेको दावी गरे । जनचाहनालाई लत्याउँदै विकासको बजेट कटौती गरी विकासलाई रोक्ने गठबन्धन सरकारलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनताले जनमत नदिएर सधैंको लागि विदा गर्ने दावी गरे । आगामी मंसिर ४ गतेपछि एमालेको नेतृत्वमा सरकार बन्ने उल्लेख गर्दै उनले उक्त सरकारले पुनः विकास र समृद्धिको लहर पैदा गर्ने दावी गरे ।

उनले भने, ‘केपी ओली नेतृत्वको सरकारले साना तथा ठूलो र राष्ट्रिय गौरवका आयोजनाहरु व्यापक मात्रामा चाएको थियो । विभिन्न प्रकारका भौतिक पूर्वाधार निर्माणका कार्यक्रमहरुले जता ततै लहर नै छाएको थियो । तर गठबन्धन सरकार आएसँगै जनताले विकासको कुनै पनि योजना देख्न पाएको छैन । अघिल्लो कार्तिक तथा मंसिरमा जता ततै विकासका कार्यहरु भएका थिए । उद्घाटन र शिलान्यासमय मुलुक बनेको थियो । तर यो सरकार आएसँगै चाल आयोजनाहरु रोकिएका छन्, जनताले विकास देख्न पाएका छैनन् । विकास र मुलुकमा नै होलीडे बनेको छ । सरकारलाई विकासको त क्यान्सर नै लागेको छ । आगामी मंसिर ४ गते गठबन्धनलाई जरैदेखी उखेलेर फाल्नुपर्छ । त्यस पछि एमालेको सरकार बन्ने छ । जसले विकास प्रति जनताको तिव्र चाहनालाई पुरा गर्नेछ ।’



प्रतिक्रिया दिनुहोस्