काठमाडौं, कात्तिक १४ । घरजग्गा कारोबारमा भारी गिरावट आएको छ । गिरावटसँगै सरकारको राजस्व पनि घट्न थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत वर्षको तुलनामा यस वर्षको असोजमा घरजग्गा कारोबारमा ह्वात्तै कमी आएको हो ।
गत वर्षको असोजमा देशभरमा कुल ५९ हजार २ सय २७ वटा जग्गा कारोबार भएकोमा यस वर्षको असोजमा २५ हजार ७ सय ८९ वटा मात्र जग्गा कारोबार भएको तथ्यांक रहेको छ ।
गत भाद्रको तुलनामा पनि असोजमा जग्गाको कारोबार खस्केको छ । गत भाद्रमा ३४ हजार ७ सय २० वटा लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
विभागका अनुसार असोज महिनामा सर्लाहीको बलरा, काठमाडौंको मनमैजु, रसुवा, गोरखा, सिर्दिवास, मनाङ, बझाङ मालपोत कार्यालयमा एउटा पनि लिखत पारित भएको छैन ।
सबैभन्दा वढी लिखत पारित गर्ने मालपोत कार्यालयमा क्रमशः इनरुवा, नेपालगन्ज, जनकपुरधाम, बेलवारी, राजविराज, भद्रपुर, घोराही, तुलसीपुर, जलेश्वर, कलंकी, तौलिहवा, लगनखेल र कलैया रहेका छन् ।
इनरुवामा १ हजार १ सय ४९ वटा, नेपालगन्जमा १ हजार २८, जनकपुरधाममा १ हजार ४, मोरङमा ८५९, राजविराजमा ८ सय १७ वटा र भद्रपुर ६ सय ९१ वटा लिखत पारित भएका छन् ।
काठमाडौंको चावहिलमा ३ सय ४६, साँखुमा ४ सय १, कलंकीमा ६ सय २०, टोखामा ९२ वटा लिखत पारित भएका छन् । भक्तपुरमा भने असोज महिनामा ५ सय ४० वटा मात्र लिखत पारित भएको छ ।
ललितपुरको लगनखेल मालपोत कार्यालयबाट ६०६ वटा लिखत पारित हुँदा गोटीखेलबाट १९ वटा लिखत पारित भएको देखिएको छ ।
लिखत पारितमा गिरावटसँगै सरकारको राजस्वमा पनि ह्रास आएको छ । गत वर्षको असोजमा घरजग्गा कारोबारबाट ७ अर्ब ३३ करोड २१ लाख १५ हजार ४ सय ९६ बराबरको राजस्व संकलन गरेकोमा यसपालि २ अर्ब ५६ करोड ९३ लाख ४८ हजार ३ सय ९३ बराबरको मात्र राजस्व संकलन भएको छ ।राजधानी दैनिकबाट