Logo

आजदेखि सन्दीपको थुनछेक बहस शुरु हुँदै



काठमाडौं, कात्तिक १५ । भूनेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा एक नाबालिका किशोरीलाई जबर्जस्तीकरणी गरेको अभियोगमा १२ वर्षसम्मको सजाय माग गर्दै मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले प्रहरीले गरेको अनुसन्धान र प्रतिवेदनको आधारमा मुद्दा दर्ता गरेको हो।

अभियोगपत्रमा नाबालिकालाई जर्बजस्तीकरणी गरेको भन्दै सन्दीपलाई १० देखि १२ वर्षसम्मको जेल सजायसहितको उचित क्षतिपूर्ति माग गरिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। पीडित बालिकाको लागि उचित क्षतिपूर्ति माग गरे पनि तोकिएको भने छैन।

सन्दीपमाथि लागेको आरोपलाई आधार मान्दै प्रहरीले अनुसन्धान र प्रमाण संकलन गरी सरकारी वकील कार्यालयलाई प्रतिवेदन बुझाएको थियो। आजदेखि सन्दीपको थुनछेक बहस शुरु हुँदैछ। थुनछेक बहस सकिएपछि उनलाई थुनामै राखेर अनुसन्धान गर्ने वा थुनाबाहिर राखेर भन्ने विषयमा अदालतले आदेश दिनेछ।

सुरुमा मुद्दाको प्रतिवादी सन्दीपको बयान गरिने अदालती प्रक्रिया हुन्छ। बयानपछि उनलाई थुन्ने वा छोड्ने भन्ने बहस हुनेछ। कानुन व्यवसायीको संख्याको आधारमा बहस कहिले सकिने भन्ने निक्र्यौल हुने काठमाडौं जिल्ला अदालत प्रशासनले जनाएको छ। त्यसपछि पीडित किशोरीले अदालतमै बकपत्र गर्नुपर्नेछ।

मुलुकी अपराध संहिताको दफा २१९ मा जबर्जस्तीकरणी कसुरको विषयमा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर पनि १८ वर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जर्बजस्तीकरणी गरेको मानिने लेखिएको छ।

त्यसको उपदफा (घ) मा ‘१६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म’ सजाय हुने व्यवस्था गरिएको छ। सन्दीपविरुद्ध यसै दफामा टेकेर मुद्दा दर्ता गरिएको छ।



प्रतिक्रिया दिनुहोस्