Logo

साँझ बिहानको छाक टार्न मुस्किल भएपछि सागकी स्वर्ण विजेता म्यादी प्रहरीमा



काठमाडौं, कात्तिक १५ । खेलकुद क्षेत्रमा पछिल्लो समय उदयीमान खेलाडीका रुपमा आफूलाई स्थापित गरेकी कुस्ती खेलाडी सङ्गीता धामी आसन्न मङ्सिर ४ गते हुने निर्वाचन सुरक्षामा खटिन म्यादी प्रहरीमा भर्ना भएकी छिन । पारिवारिक आर्थिक अवस्था नाजुक हुँदा आफू म्यादी प्रहरीमा भर्ना भएको धामीको भनाइ छ।

हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक विजेता धामी १३ औँ दक्षिण एशियाली खेलुकद प्रतियोगिता (साग) मा पहिलो पटक स्वर्ण जित्ने नेपाली महिला खेलाडी हुन ।

दार्चुलाको शैल्यशिखर नगरपालिका स्थायी घर भएकी धामी कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुर ठूलोबुवाको घरमा बस्दै आएकी छिन ।

बाल्यावस्थामै बुवा अर्कै श्रीमती लिएर घरबाट निस्केपछि आमा धनादेवीको सहारामा यहाँसम्म आइपुगेकी धामीको अझै पारिवारिक अवस्था दयनीय छ । धामी म्यादी प्रहरीमा भर्नासँगै यही बीचमा नवौँमा स्वर्ण जितेर आएकी थिइन् ।

सागका स्वर्ण जित्दा सरकार र विभिन्न नगरपालिकाबाट पाएको रकमले घर खर्च चलेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्