Logo

एकीकृत समाजवादी घोषणापत्र : कृषि उत्पादकत्वमा जोड



काठमाडौँ,१५ कार्तिक । नेकपा (एकीकृत समाजवादी)ले कृषि उत्पादकत्वमा वृद्धिका लागि कृषि पूर्वाधारमा ठूलो लगानीको अवधारणा ल्याएको छ ।

आगामी निर्वाचनका लागि तयार पारिएको घोषणापत्रमा कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण तथा किसानलाई कृषियन्त्र, मल, बीउ, प्रविधिको सहज उपलब्ध गराउने लक्ष्य लिएको छ ।

किसानले उत्पादन गरेका वस्तु खेर जान नदिन हरेक पालिकामा शीतभण्डार (कोल्डस्टोर) तथा कृषि उपज सङ्कलन केन्द्र निर्माण गर्ने, सम्पूर्ण कृषिभूमिमा सुपरजोन, जोन, ब्लक र पकेटस्तरका आधुनिक फार्मको विकास गरी माटो अनुकूल बाली उत्पादनमा जोड दिँदै दुई वर्षभित्र मुलुकलाई आधारभूत खाद्यान्न, माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाउने र पाँच वर्षभित्र खाद्यान्न निर्यात गर्ने अवस्थामा पु¥याइने विषयलाई प्राथमिकतामा राखिएको छ ।

आधुनिक कृषि, संरक्षित कृषि बजार र सम्पन्न किसानको अवधारणा रहेको उक्त कार्ययोजनामा रासायनिक मलप्रतिको निर्भरता हटाउँदै प्राकृतिक–जैविक मल उत्पादनतर्फ किसानलाई आकर्षित गराउने र बर्सेनि हुने मलको अभावलाई अन्त्य गर्नका लागि मल कारखाना स्थापनामा गर्ने विषय समावेश छन् ।

भूमि बाँझो राख्न नपाउने, बाँझो जमिनमा खेती गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिने, कृषियोग्य भूमिमा चक्लाबन्दी एवं गरा सुधार र सामूहिक एवं सहकारी खेतीमा जोड दिइएको छ । पार्टीका महासचिव डा बेदुराम भुसालका अनुसार युवा तथा महिला कृषकलाई आधारभूत आधुनिक कृषि शिक्षा, व्यावसायिक तालिम, सहुलियत सरल कर्जा प्रवाह व्यवस्था गर्ने, किसान र कृषि उद्यमीलाई कृषि बिमाका लागि आवश्यक रकम अनुदानमा दिने व्यवस्था छ ।

रोजगारीका लागि विदेशिएका युवालाई कृषि पेशामा आकर्षित गर्न रु १० लाखसम्म निब्र्याजी ऋण दिने व्यवस्था गरिएको छ । ‘विदेशिएका युवालाई स्वदेश फर्काऊँ, कृषि उत्पादनमा वृद्धि गरौँ ’ अभियान नै सञ्चालन गर्ने, किसानले उत्पादन गर्ने प्रमुख खाद्य बालीमा न्यूनतम समर्थन मूल्य तोकेर त्यसभन्दा कम बजार मूल्य भएमा सरकारले नै खरिद गर्ने व्यवस्था मिलाउने घोषणापत्रमा उल्लेख छ । रासस



प्रतिक्रिया दिनुहोस्