नवलपुर, कात्तिक १७ । राज्य पुनःसंरचनासँगै सिङ्गो नवलपरासी दुई जिल्लामा विभाजन भयो । जिल्ला टुक्रिएसँगै जिल्लाको पूर्वी भाग नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गण्डकी प्रदेशमा र पश्चिमी भाग नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) लुम्बिनी प्रदेशमा राखियो ।
पुनःसंरचनासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा सम्पूर्ण संरचना नयाँ निर्माण भए । चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेको जिल्लालाई दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विभाजन गरियो । नवलपुरको बौदीकाली गाउँपालिका, बुलिङटार गाउँपालिका, गैँडाकोट नगरपालिका, देवचुली नगरपालिकाका सबै क्षेत्र र कावासोती नगरपालिकाका ११ वटा वडा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा समेटिएका छन् ।
विसं २०४८ देखि नेपाली कांग्रेसले जित्दै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को क्षेत्र नम्बर १ बाट यसपटक पनि महामानव वीपी कोइरालाका पुत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइराला चौथो पटक निर्वाचनमा होमिएका छन् । कोइराला यस क्षेत्रबाट संविधानसभा निर्वाचन २०६४, २०७० र प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा भारी मतका साथ विजयी भएका थिए ।
चौथोपटक निर्वाचन जित्ने कसरतका साथ उम्मेदवार भएका डा कोइरालाको प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । नवलपुर क्षेत्र नम्बर १ कांग्रेसको सुरक्षित निर्वाचन क्षेत्र र राष्ट्रिय राजनीतिमा प्रभाव पार्नसक्ने व्यक्ति भएकाले कोइरालाको विकल्प नभएको कांग्रेसको दाबी छ तर, देशव्यापी रुपमा नयाँ नेतृत्वको खोजी भइरहेको बेला र स्थानीय तह निर्वाचन २०७९ मा यस क्षेत्रमा पर्ने अधिकांश पालिकामा एमालेका उम्मेदवार विजयी भएकाले पौडेल विजयी हुने एमालेको दाबी छ ।
विसं २०६४ मा डा कोइरालाले १७ हजार ४३० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी तत्कालीन माओवादीका ठाकुरप्रसाद चापागाईं रहेका थिए । एमाले तेस्रो स्थानमा रहेको थियो । विसं २०७० को निर्वाचनमा कोइराला १८ हजार दुई सय २८ मत ल्याएर दोस्रोपटक विजयी बने । कोइराला विजयी बन्दा एमाले उम्मेदवार दीपक अधिकारी क्षेत्रीले १२ हजार एक सय १० र माओवादीका धनप्रसाद सापकोटाले चार हजार तीन सय १७ मत प्राप्त गरेका थिए ।
त्यस्तै २०७४ सालको निर्वाचनमा कोइराला ३६ हजार छ सय ५२ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार तीन सय आठ मत प्राप्त गरेका थिए ।
नवलपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ३१ हजार एक सय ८१ मतदाता रहेका छन् । नवलपुर–१ मा प्रतिनिधिसभातर्फ कोइराला र पौडेलसहित १५ जनाले उम्मेदवारी मनोनयन गराएका छन् । पाँच स्वतन्त्रका साथै जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपालका लागि नेपाली पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसमेत चुनावी मैदानमा छन् । मुख्यतया कोइराला र पौडेलबीच नै चुनावी प्रतिस्पर्धा हुने बताइएको छ ।