काठमाडौं, १९ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी देश बनाउने स्पष्ट दृष्टिकोण, योजना र प्रतिवद्धता भएको एकमात्र पार्टी भएको बताएका छन् । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको आज (शनिबार) उद्घाटन गर्दै अध्यक्ष ओलीले नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले भएको बताएका हुन् ।
उनले भने,‘नेपाललाई अहिले नीति, कार्यक्रम, योजना र प्रतिवद्धतासहितको बलियो राष्ट्रिय शक्ति चाहिएको छ र त्यो आवश्यकता एमालेले मात्र पूरा गर्न सक्छ ।’ वर्तमान गठबन्धन सरकार स्वाभिमान नभएको कठपुलती भएको वताउँदै आगामी मंसिर ४ गतेको निर्वाचनबाट यिनीहरु महाभारतमा कौरव जसरी समाप्त हुने विश्वास व्यक्त गरे ।
उनले मुलुक अत्यन्तै निर्णायक मोडमा रहेकाले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनैपर्ने बताए । उनले भने,‘सामान्यतया अहिलेको निर्वाचनबाट एउटा पार्टीलाई बहुमत आउने सम्भावना कमै हुने भए पनि अहिले असामान्य परिस्थिति भएकाले असामान्यरुपमै एमालेले शानदार बहुमत ल्याउँछ ।’