जनकपुरधाम, कार्तिक २० । धनुषा क्षेत्र नम्बर ३ (क) बाट प्रदेश सभा सदस्यका उम्मेदवार डा प्रसन्न झाले मतदाताको एक मतले प्रदेशको भविष्य निर्माण गर्ने भएकाले हरेक एक मतको सही प्रयोग गर्न मतदाताहरुसँग आग्रह गरेका छन ।
शनिबार क्षेत्रको नगराई, जटही र राघोपुर लगायतका ठाउँमा गरेको घरदैलोको क्रममा आफ्नो अमूल्य मतको सही सदुपयोग गर्न मतदातालाई आग्रह गरेका हुन । उनले मतदाताहरुलाई तपाईको एक मतले देश र जनताको भविष्य निर्धारण गर्ने हुँदा आफ्नो मतको सही सदुपयोग गर्न भने ।
जनमत पार्टीका उम्मेदवार झाले मतदातासँगको भेटघाटको क्रममा जनताको सुखदुख र पिर मर्का बुझ्ने उम्मेदवारलाई मतदान गर्न सुझाव दिए ।
गलत उम्मेदवारलाई मतदान गरेर पछुताउनुभन्दा समयमै सक्षम व्यक्तिलाई मतदान गर्न उनको आग्रह छ । आफ्नो क्षेत्रमा निरन्तर रहेर जनताका आवश्यक्ता एवम् समस्याहरुको सम्बोधन गर्न आफू सक्षम रहेको उनले बताए ।
आफुले विकासको खाका र योजना बनाएको बताउँदै उनले त्यसलाई मुर्त रुप दिनका लागि मतदाताले मतदान गरेर सहयोग गर्नुपर्ने बताएका छन् । विकास प्रेमी जनताले आफ्नो काम र आफ्ना योजनाको विश्वास गरेर अवसर दिनेमा झा विश्वस्त छन् ।