Logo

अबको ठूलो पार्टी कांग्रेस हुन्छ, गठबन्धनको सरकार बन्छ, प्रधानमन्त्री को बन्छ, अहिले नै भन्न सक्दिनँः चक्रपाणि खनाल



काठमाडौं, २० कात्तिक । नेकपा (माओवादी केन्द्र) का सचिव एवं कपिलवस्तु १ का उम्मेदवार चक्रपाणि खनालले मंसिर ४ पछि सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस नै बन्ने ठोकुवा गरेका छन् ।
‘मंसिर ४ पछि पनि गठबन्धनकै बहुमतीय सरकार बन्छ । म संसदमा ठूलो पार्टी नेपाली कांग्रेस बन्छ भन्न सक्छु । गठबन्धनको बहुमतीय सरकार भन्छ सक्छु । तर को प्रधानन्त्री बन्ने भन्नेबारे कुनै सहमति भएको छैन । नेपाली कांग्रेसको नेतृत्वमा पनि बन्न सक्छ, प्रचण्डजीको कुरा पनि छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खनालले भने । नयाँ दिल्लीमा सरकार बन्ने बारे सम्झौता भएको आफूलाई जानकारी नभएको पनि उनले बताए ।
वर्तमान सत्ता गठबन्धन १५ वर्षसम्म अघि जाने पनि खनालले दाबी गरे । आफूले कपिलवस्तु १ मा विकासका धेरै काम गरेको फेहरिस्त पनि उनले दिए । खनालले भने, ‘यो क्षेत्र स्वास्थ्य र शिक्षामा पिछडिएको छ । किसानले समयमा मलखाद पाउन सक्दैनन् । मेरो पहलमा यहाँ कन्या कलेज र इन्जिनियरिङ कलेज खुलेको छ । कृषि बजार, कोल्ड स्टोर, खाद गोदामका लागि कृषि उपज संकलन केन्द्र खुलेको छ ।’
छोटो समय कृषिमन्त्री हुँदा आफूले मासु, अण्डा, फलफूलमा आत्मनिर्भर बन्नका लागि विभिन्न नीतिगत निर्णय लिएको पनि उनले सुनाए । खनालले थपे, ‘म छोटो समय मन्त्री बनें । खसी बोका आयात बन्द गरें । कुखुरा आयातमा प्रतिबन्ध लगाएँ । धुलो दूधमा आयात रोकें । १६ वटा ल्याब राखेर विषादी चेकजाँच गरेर मात्र कृषि उपज ल्याउनुपर्छ भन्नेमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग कतिपय कुरा मिलेन । विवादमा आउने काम नगर्नुस् भन्नुभयो । मैले मन्त्री पद छोड्नुपर्‍यो ।’

 



प्रतिक्रिया दिनुहोस्