काठमाडौं, कात्तिक २२ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२७) विश्वलाई मानवताविरुद्धको सबैभन्दा ठूलो चुनौतीसँग जुध्नका लागि आवश्यक आपसी सहकार्यमा जोड दिँदै इजिप्टको समुद्री तटीय सहर सार्म–एल–शेखमा भव्यताका साथ सुरु भएको छ।
उद्घाटन सत्रमा विश्वस्तरीय जलवायु क्षेत्रका नेतृत्वकर्ताले जलवायु परिवर्तनबाट उत्पन्न समस्यासँग लड्न अघिल्ला सहमतिअनुसार बनाइएका योजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। उद्घाटन सत्रमा बोल्दै संयुक्त राष्ट्रसङ्घीय जलवायु महासन्धिका कार्यकारी सचिव साइमन स्टिलले भने, “आजदेखि नयाँयुग सुरु हुँदैछ, पेरिस सम्मेलनले सम्झौता दियो, केटाविस र ग्लास्गोले हामीलाई योजना दिएको छ, हामी जे गर्छौं अब फरक तरिकाले गर्नुपर्छ र सार्म–एल–शेखले हामीलाई कार्यान्वयनतर्फ लैजाँदैछ।”
अब कार्यान्वयनमा जोड दिनुपर्नेतर्फ औँल्याउँदै उनले अबको समय कोही पनि यात्री बनेर हेरेर बस्न नहुने बताए। महासन्धि जलवायु प्रणालीमा खतरनाक तवरले आक्रामक बनेको मानव हस्तक्षेप रोक्नका लागि सन् १९९४ देखि लागू भएको हो। विश्वका १९८ देशले यो महासन्धि अनुमोदन गरेका छन्। पछिल्ला हरेक सम्मेलनले यसलाई थप विस्तारित बनाउँदै लगेको छ।
अन्तर्राष्ट्रिय प्रयासलाई गति दिनु हरेक सदस्य राष्ट्रको कर्तव्य भएकाले त्यसका लागि मुख्य तीन महत्वपूर्ण कार्यदिशाको बारेमा उनले स्पष्ट पारे। जसअनुसार वार्तालाई ठोस कार्यमा राखेर कार्यान्वयन पक्षमा अग्रसर हुनुपर्ने, कङ्क्रिट विकासलाई न्यूनीकरण गर्दै हानि नोक्सानीको क्षतिपूर्तिका लागि जलवायु अनुकूलन वित्तलाई आकार दिनुपर्ने र हरेक प्रक्रियामा पारदर्शिता र जवाफदेहिताको सिद्धान्त अक्षरशः पालना गर्नुपर्नेमा जोड दिइनुपर्छ।
नेपालसहित विश्वका २९ देश कोप–२६ पछि कडा राष्ट्रिय जलवायु योजना लिएर अगाडि आए पनि त्यसमा बहुमत नहुँदा कार्यान्वयनमा समस्या रहने विश्लेषण उद्घाटन सत्रमा गरिएको थियो। अझै १७० मुलुक राष्ट्रिय प्रतिबद्धतालाई समीक्षा गरेर बलियो बनाउनमै अग्रसर रहेको टिप्पणी गरिएको थियो। उनले जस्तै अन्य जलवायु सम्बद्ध नेतृत्वकर्ताले गत वर्ष ग्लास्गोले दिएको कार्यदिशा पछ्याउँदै आफ्ना प्रतिबद्धताप्रति जवाफदेही हुन आह्वान गरे ।
कोप–२६ का अध्यक्ष आलोक शर्माले उद्घाटन समारोहमा कोप–२७ का आयोजक इजिप्टका अध्यक्ष समेह शौकरीलाई आधिकारिक रूपमा सम्मेलनको छडी हस्तान्तरण गरेका छन् । गोरखापत्र दैनिकबाट