काठमाडौं, २२ कार्तिक । निर्वाचनको संघारमा भक्तपुर जिल्लामा एमालेमा प्रवेश गर्नेको लर्को लागिरहेको छ । प्रायः दैनिक रुपमा विभिन्न पार्टी परित्याग गरी एमालेमा दर्जनौं युवाहरु प्रवेश गरिरहेका छन् । आज (मंगलबार) एमाले सूर्यविनायक नगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको बृहत पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६५ जना युवाहरु एमाले प्रवेश गरेका छन् ।
विक्रम कर्मचार्यको नेतृत्वमा कांग्रेस, नेपाल मजदुर किसान पार्टी, नेकपा एकीकृत समाजवादी, राप्रपाबाट ६५ जना युवाहरु एमाले प्रवेश गरेका हुन् । नवप्रवेशीलाई एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नम्वर २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेत तथा प्रदेशसभा ‘क’ सूर्यविनायक क्षेत्रका उम्मेदवार किरण थापा, समानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठले अविर लगाई एमालेमा प्रवेश गराएका हुन् ।
जिल्लामा एमालेको नेतृत्व तथा महेश बस्नेतले प्रतिनिधिसभामा विजयी भए पश्चात गरेका विकासले भक्तपुरको मुहार ऐतिहासिक रुपमा परिववर्तन भई भक्तपुरवासी भनेर गर्वका साथ बोल्जन सक्ने अवस्थाको बनाएकाले एमाले नै रोजेको नवप्रवेशीले बताए ।
राष्ट्रिय राजनीतिमा अब्बल सावित हुनुभएका नेता बस्नेतले अब पुनः विजय भएमा नेपालकै नमुना जिल्लाको रुपमा भक्तपुर हुने विश्वास गर्दै नवप्रवेशीले एमालेको झण्डामुनी रहेर पार्टीले दिएको जिम्मेवारी पुरा गर्दै भक्तपुरको विकास र समृद्धिको यात्रामा एमाले तथा नेता बस्नेतसँगै अगाडी बढ्ने प्रतिवद्धता जनाए ।
नवप्रवेशीले जिल्लामा नै रोजगारीको वातावरण सिर्जना गर्न नेता बस्नेतसँग माग समेत गर्दै नवप्रवेशीलाई पनि योग्यता र क्षमताको आधारमा उचित जिम्मेवारी दिई मुलुक निर्माणमा परिचालन गर्न आग्रह गरे ।
नवप्रवेशीलाई स्वागत गर्दै नेता बस्नेतले एमालेमा कसैलाई काखा, कसैलाई पाखा नहुने उल्लेख गर्दै योग्यता र क्षमताको आधारमा पार्टीले जिम्मेवारी दिने बताए । एमालेको अर्जुनदृष्टि नै आगामी मंसिर ४ गतेको निर्वाचनमा एमालेको बहुमत सहितको सरकार बनाउनु भएकाले आ–आफ्नो क्षेत्रबाट एमालेका उम्मेदवारलाई विजयी गराउन अहोरात्र खट्न निर्देशन दिए।
राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षमा एमाले जहिले पनि अटल र अडिक रहेको उल्लेख गर्दै उनले राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी तथा एसपीपी जस्ता सम्झौताको सडक तथा सदनमा विरोध गरेको बताए।