सचिना बानियाँ, काठमाडौँ, २३ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन केही दिनमात्रै बाँकी छ । आफ्नो चुनावी एजेण्डा बोकेर उम्मेदवारहरु मत माग्न जनताको घरदैलोमा पुगिरहेका छन् । आगामी निर्वाचनमा मुख्य प्रतिस्पर्धा ठुला राजनीतिक दलबीच नै हुने देखिन्छ । यद्वपी स्वतन्त्र रूपमा उम्मेदवारी दिनेहरुको संख्या पनि कम छैन ।
काठमाडौँ–७ मा प्रतिनिधिसभा सदस्यमा विभिन्न राजनीतिक दलको तर्फबाट १३ र १६ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । सो क्षेत्रमा सत्ता गठबन्धबाट अस्मिता सिंह (मानुषी) यमी भट्टराई नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर मैदानमा हुनुहुन्छ । नेकपा (एमाले) बाट श्यामकुमार घिमिरे उम्मेदवार बनेका छन् । यमीलाई नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) को समर्थन छ ।
सो क्षेत्रमा विसं २०७४ निर्वाचनमा नेकपा (एमाले) बाट रामवीर मानन्धर निर्वाचित भएका थिए । उनले आठ हजार २३ मतान्तरले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रमबहादुर थापालाई पराजित गर्दै १८ हजार एक सय २ मत प्राप्त गरेका थिए । तर, यसपटक मानन्धर स्वतन्त्र रुपमा घण्टाघर चुनाव लिएर चुनावी मैदानमा छन् । एमालेबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
०७४ सालको निर्वाचनमा निर्वाचित सांसद मानन्धर आफूले सुरू गरेर पुरा गर्न नभ्याएका बाँकी विकासका योजना पुरा गर्न पुनःउम्मेदवारी दिएको बताउछन् । उनी आफ्नो जित कायम राख्ने कसरतमा छन् । सो क्षेत्रमा तीन उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
एमाले उम्मेदवार घिमिरे कला, संस्कृतिको संरक्षण गर्दै पर्यटकीय विकासका योजनालाई अघि बढाउने एजेण्डासहित चुनावमा होमिएका छन् । त्यस्तै, तीव्र आर्थिक विकासका लागि लगानीमैत्री वातावरण बनाउने र प्रबद्र्धनमा सहजीकरण गर्ने अठोटका साथ मानुषी अघि बढेकी छिन् । कुल ग्राहस्थ बचत वृद्धि गरि लगानीतर्फ प्रोत्साहन गर्ने उनको प्रमुख एजेण्डा रहेको छ ।
सो निर्वाचन क्षेत्रमा १० वडा समेटिएका छन् जसमध्ये काठमाडौँ महानगरपालिकाका चार, नार्गाजुन नगरपालिकाका तीन र तारकेश्वर नगरपालिकाका तीन वडाहरु रहेका छन् । गत स्थानीय तहको निर्वाचनको नतिजाअनुसार काठमाडौँ महानगरको १६,१७,२५ सोही क्षेत्रअन्तर्गत पर्ने नार्गाजुन नपाका वडा नं.१ र तारकेश्वरको वडा नं.५मा कांग्रेसले जित हासिल गरेको छ ।
एमालेले काठमाडौँ महानगरअन्तर्गतका वडा नं.१८, सोही निर्वाचन क्षेत्रअन्तर्गत पर्ने नागार्जुनको २, ३ र तारकेश्वरको वडा नं ४ मा जित हासिल गरेको छ । स्थानीय तहको निर्वाचनमा कांग्रेसका वडाध्यक्षले १४ हजार १ सय ६७, एमालेका वडाध्यक्षले १२ हजार दुई सय दुई, नेकपा (माओवादी केन्द्र) ले पाँच सय ७६ र नेकपा (एकीकृत समाजवादी)ले तीन हजार ३८ मत प्राप्त गरेका छन् । स्थानीय तहको मतको आधारमा यो क्षेत्रमा सत्ता गठबन्धन नै बलियो देखिन्छ ।
स्वतन्त्र रूपमा उम्मेदवारी दिनेहरुमा मानन्धरसहित हेमबहादुर ढुंगेल, रोजिना अवाले, किरण केसी, सुजनराज बज्राचार्य, रविन्द्रकुमार श्रेष्ठ, लोकप्रसाद सिंखडा, प्रशन्नकुमार अर्याल, यादवलाल कायस्थ, राजकुमार कोइराला, भरत तामाङ, मञ्जुमाया तामाङ, जानुका पौडेल, हेम ढुंगेल, लक्ष्मण गजुरेल, ईश्वर अर्याल छन् ।
उक्त क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धु्रवविक्रम मल्ल, नेपालका लागि नेपाली पार्टीबाट राम नेपाली, जनसमाजवादी पार्टी नेपालबाट शैलेस राज श्रेष्ठलगायतले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ काठमाडौँ–७ मा कुल मतदाताको संख्या ६१ हजार २ सय ९१ रहेको छ । तीमध्ये ३१ हजार ६ सय ६४ महिला र २९ हजार ६ सय २७ पुरुष मतदाता रहेका छन । सो क्षेत्रमा मतदान केन्द्र २९ र मतदानस्थल ७१ निर्धारण गरिएको छ । रासस