Logo

सुदूरपश्चिममा सत्ता गठबन्धन हाबी



काठमाडौं, २४ कात्तिक। मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन परिणाम आ–आफ्नो पक्षमा पार्न राजनीतिक दल र तिनका उम्मेदवार मात्र होइनन्, स्वतन्त्रहरू पनि आफ्ना प्रतिबद्धतासहित जनताको घरघरमा पुगिरहेका छन्। एक तिहाइ उम्मेदवारले स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरेको यसपटकको चुनावमा कुन क्षेत्रमा कसले जित्छ भन्ने आंकलन गर्नु त्यति सहज छैन।

२०७९ वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनले पनि स्वतन्त्र र नयाँ उम्मेदवारको पक्षमा आएको जनमतले चुनावी परिणाममा व्यापक फेरबदल ल्याउने सम्भावना देखाउँछ। यद्यपि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दलहरूले समानुपातिकतर्फ प्राप्त गरेको मतपरिणाम र स्थानीय तह २०७९ को परिणामलाई केही आधार मान्न भने सकिन्छ।

पाँच वर्षअघिको निर्वाचनमा दलहरूबीच भएको तालमेल र अहिलेको गठबन्धन पनि फरक छ। उतिबेला तालमेल गरेका दल अहिले आपसमा प्रतिस्पर्धी छन्। प्रतिनिधिसभाको अघिल्लो निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा (राजमो) को गठबन्धन थियो भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच तालमेल थियो। यसपटक एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र, राजमो मात्र होइन, एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी (नेकपा एस) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समेत छन्।

यता एमालेले पनि राप्रपा र जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेको छ। यस हिसाबले पाँच वर्षअघिको र अहिलेको परिस्थिति उल्टो छ। यो अवस्थामा गत स्थानीय तहमा आएको मतपरिणाम र २०७४ सालमा राजनीतिक दलहरूले समानुपातिकतर्फ ल्याएको मतलाई आधार बनाएर विश्लेषण गर्ने प्रयास गरिएको छ, जसले सम्भावित परिणामका विषयमा एउटा संकेत गर्छ।

अघिल्लो प्रतिनिधिसभामा दलहरूले समानुपातिकतर्फ ल्याएको मत र गत स्थानीय निर्वाचनमा मत परिणामलाई आधार मान्दा सुदूरपश्चिमको १६ वटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन अगाडि देखिन्छ। प्रतिपक्ष गठबन्धनमा एमालेबाहेक अन्य दलको उपस्थिति सुदूरपश्चिममा कमजोर देखिन्छ। कञ्चनपुरमा राप्रपाको उपस्थिति देखिए पनि उसले आफ्नै उम्मेदवार उठाएका कारण यो मत एमाले उम्मेदवारलाई जाने सम्भावना कम छ।

त्यसो त कांग्रेस र एमालेले गत स्थानीय चुनावमा प्राप्त गरेको मतलाई तुलना गर्ने हो भने कांग्रेस १० क्षेत्रमा अगाडि छ भने एमाले ६ क्षेत्रमा मात्रै। तर यी ६ क्षेत्रमा माओवादी केन्द्र र नेकपा एसले प्राप्त गरेको मत जोड्दा दार्चुलामा बराबरीजस्तै देखिए पनि अन्य क्षेत्रमा २ हजारदेखि १५ हजार मतले सत्ता गठबन्धन अगाडि छ।



प्रतिक्रिया दिनुहोस्