एजेन्सी । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिड विजयी भएको छ । गएराति भएको खेलमा म्याड्रिडले काडिजलाई २-१ गोलले पराजीत गरेको हो ।
इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जीत दिलाउन इडर मिलिटाओ र टोनी क्रुसले एक-एक गोल गरे । काडिजको लागि लुकास पेरेजले एक गोल फर्काए । खेलको ४० औं मिनेटमा क्रुसको पासमा मिलिटाओले हेडर गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए ।
७० औं मिनेटमा क्रुसले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए । ८१ औं मिनेटमा परेजले गोल गर्दै काडिजलाई २-१ गोलको स्थितिमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड २-१ गोलले विजयी भयो ।
जीतसँगै म्याड्रिड १४ खेलबाट ३५ अंकको साथ लिगको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट ११ अंक जोडेको काडिज पुछारबाट दोस्रो स्थानमा छ ।