काठमाडौं, २६ कार्तिक । आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन जति नजिकिदै छ त्यति नै दल तथा स्वतन्त्र उम्मेदवार, नेता, कार्यकर्ताहरूको दौडधुप बढ्दो छ । गठवन्धन दललाई केही स्थानमा वागी उम्मेदवार घाँडो भएका छन् भने केही स्थानमा स्वतन्त्र उम्मेदवार तगारो बनेर लेर्सिएका छन् । एमाले, राप्रपा, मधेशीलगायत दललाई पनि स्वतन्त्रको भय त छँदैछ, ठाउँअनुसार विभिन्न दलसँग भएको अपवित्र साँगठाँठका कारण आफ्नै गठवन्धनबाट मत पाउनेमा शंका छ । चुनावी सरगर्मी बढेसँगै स्वतन्त्र उम्मेदवारले भने धेरै स्थानमा बाजी मार्ने वातावरण बन्दै गएको छ ।
यही मेसोमा काठमाडौं क्षेत्र नंं ७ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार हेमबहादुर ढुंगेल (आक्रोश) ले चुनावी प्रचारप्रसालाई तीव्रता दिनुभएको छ । आफ्नो पक्षमा माहोल बढ्दै गएपछि उहाँ घरदैलो अभियानमा थप सक्रिय बन्नुभएको हो । यही क्रममा ढुंगेलले क्षेत्र नं. ७ अन्तर्गत क्षेत्रपाटी, ठमेल, बालाजू, नयाँबजार, सोह्रखुट्टे, म्हैपी, टौडोल, माछापोखरी, वनस्थली, ढल्को, धोबीचौर, ठैँटी, नरदेवी, भुरुङखेल, ढोकाटोल, मच्छिन्द्रटोल, न्ह्यौखा, पुरानो गुह्येश्वरी, भैरवथान, गोलढुङ्गा, रानीवन, ठूलो भ¥याङ, इचंगु, गैरीगाउँ, तीनपिप्ले, जीतपुरफेदी, लोलाङ, पाँचमाने, धितालचोक, डाँडागाउँ, दुगुर्नेपानी, शेषमतिपुललगायतका बस्तिमा पुगेर मतदाताको साथ माग्नुभएको छ । चुनाव चिन्ह् ‘छत्रेटोपी’ लिएर मैदानमा उत्रिनुभएका उहाँप्रति मतदाताको पनि न्यानो माया रहेको पाइएको छ ।
तिहारलगत्तै घरदैलो अभियानमा जुट्नुभएका ढुंगेल निर्वाचन आचारसंहिताअनुरूप कात्तिक १७ गतेबाट मंसिर १ गतेसम्म प्रचार–प्रसार गर्न पाइने भएपछि निकै व्यस्त हुनुुहन्छ । काठमाडौं–७ मा राम्रो प्रभाव जमाउँदै गएपछि अहिले ठूला राजनीतिक दलका लागि उहाँ नै मुख्य चुनौती बन्नुभएको छ । मूलधारका दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै उहाँ सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, क्षेत्रभरि शुद्ध खानेपानी पु¥याउने, सबै क्षेत्रवासीलाई गुणस्तर एवं सीपमूलक शिक्षा प्रदान गर्ने तथा भ्रष्टाचाररहित समाज निर्माण गर्नेलगायतका प्रतिबद्धता लिएर मतदाताको घरदैलोमा पुग्नुभएको हो । उद्यमशीलता र रोजगारी दिने, सामाजिक सुरक्षा भत्ता घर÷घरमा पु¥याउने, सो क्षेत्रभर फोरजी सहितको टेलिफोन नेटवर्क र २४ सै घण्टा विद्युत् आपूर्ति व्यवस्था मिलाउने, शिक्षा–स्वास्थ्यको क्षेत्रमा विशेष पहल गर्नेलगायत १० वटै वडामा सुरु भएका महत्वपूर्ण योजना अझै पनि केही अपूरा रहेकाले तिनलाई पूर्णता दिने आफ्नो लक्ष्य रहेको ढुंगेल बताउनुहुन्छ ।
‘हाम्रो देशमा जबसम्म सत्तामोहको राजनीति चलिरहन्छ– तबसम्म विभिन्न विकराल किसिमका समस्या जिउँका तिउँ रहिरहन्छ, विकास र समृद्धिमा लगानी गर्नुपर्ने रकम नेताको गोजीमा गइरहन्छ’ ढुंगेल भन्नुहुन्छ– ‘मलाई जिताएमा यस्ता किसिमका समस्याको निराकरण गर्न नसकेको खण्डमा म जुनसुकै सजायँ र दण्ड भोग्न तयार छु ।’ देश विकास गर्न पहिला राजनीतिक फोहोर सफा गर्नुपर्ने तर्क पनि उहाँको छ । काठमाडौंको ७ नं. निर्वाचन क्षेत्रमा १६ स्वतन्त्र र १३ दलका गरी २९ जनाको उम्मेदवारी परेको छ । ‘अबको आशा, युवाको भरोसा’ आफ्नो नारा रहेको ढुंगेल बताउनुहुन्छ । आसन्न निर्वाचनमा ७ नं. क्षेत्रकै केही स्वतन्त्र उम्मेदवारले समेत आफूलाई साथ दिने प्रतिज्ञा गरेको उहाँको दावी छ ।