सर्लाही, कात्तिक २७ । “दशक बित्यो तर सर्लाहीमा हुलाकी राजमार्गको ४२ किलोमिटर खण्ड निर्माण भएन, हुलाकी सडक निर्माणमा किन उदासीनता?” सर्लाही कौडेना–७ का विजयकुमार यादवले प्रश्न गरे ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफ्नो कार्यकालको उपलब्धिमा ‘प्रत्येक दिन पाँच किलोमिटर कालोपत्रे सडक’ प्रचार सामग्री साझा गरेका छन्। उक्त प्रसङ्ग कोट्याउँदै यादवले थपे, “महिनामा एक किलोमिटर कालोपत्रे गरेको भए तीन वर्षमा बनिसक्थ्यो तर अहिले पनि हामी धुलो र हिलोमा नै छौँ ।”
“जिल्लाका प्रतिनिधि पटक–पटक मन्त्री त भए तर सडकको अवस्था फेरिएन,” भेलही बजारमा खाजा पसल थापेका ब्रह्मपुरी–३, सर्लाहीका ३२ वर्षीय सञ्जय साह कानूले निराशा प्रकट गरे । पूर्वमा महोत्तरी र पश्चिममा रौतहट जोड्ने हुलाकी सडकको भेलहीखण्डमा साहको खाजा पसल छ ।
पूर्वमा महोत्तरीसँग जोडिएको पर्साको सङ्ग्रामपुरबाट सुरु भई हुलाकी सडक सर्लाहीको आठवटा पालिका भएर रौतहट अलग्याउने बागमती किनारको छतौनामा गएर टुङ्गिन्छ । सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा मात्रै हरिपर्वा, पर्सा, ब्रह्मपुरी, मलङ्गवा, कडौना गरी पाँचवटा पालिकालाई हुलाकी सडकले जोडेको छ। सर्लाहीमा हुलाकी राजमार्गको करिब ४२ किलोमिटर खण्ड निर्माणाधीन छ। २०७२ यता पटक–पटक म्याद मात्र थपिएको छ।
योजना तथा नीति निर्माण गर्ने ठेकेदार नै जनप्रतिनिधि भएपछि गुनासो गर्ने ठाउँ नै नरहने बताउने चौधरीले “हुलाकी सडक नबन्दा भोग्नुपरेको दुःखबारे विमलेन्द्र निधि, हृदयेश त्रिपाठी, रघुवीर महासेठ र रेणु यादव कसले नबुझ्ला? तर यी जनप्रतिनिधि सम्बन्धित विभागको मन्त्री भए पनि हुलाकी सडकले पूर्णता पाएन।”
मङ्सिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सो क्षेत्रका जनताले हुलाकी खण्डमै ‘नो रोड नो भोट’ भन्दै विरोध प्रदर्शन गरेका छन्।
भारतको गुजरातमा सिलाइको काम गर्ने १८ वर्षीय किसन साहले भने स्थानीयस्तरमै रोजगार सिर्जना गर्न सक्ने र विकासलाई उद्यमसँग जोड्ने क्षमता भएका प्रतिनिधि चयन गर्ने बताए। ब्रह्मपुरीका २५ प्रतिशत युवा रोजगारीका लागि भारतको विभिन्न सहरमा रहेको उनले बताए । पेचिलो तालमेल भएका अधिकांश निर्वाचन क्षेत्रमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच विवाद देखिन्न तर तालमेल हुन नसकेका क्षेत्रमा मित्रवत् स्पर्धा गर्ने निर्णय गरेको गठबन्धनभित्र सर्लाही–२ को उम्मेदवारीलाई लिएर गम्भीर असन्तुष्टि छ।
प्रदेश सभामा नेपाली कांग्रेस, माओवादी केन्द्र र लोसपाले आ–आफ्नै अनुकूल उम्मेदवारी दिएपछि त्यसको असर प्रतिनिधि सभाको प्रचारप्रसारमा समेत देखिएका छन्। सत्ता गठबन्धनबाट नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव र लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो स्पर्धामा हुनुहुन्छ। दुवै जना गठबन्धनबाट भए पनि उनिहरूको बीचमा मित्रवत् स्पर्धा हुनेछ। गोरखापत्र दैनिकबाट