Logo

भक्तपुरमा थापालाई लौरो अभियानका प्रदेश उम्मेदवारको समर्थन



भक्तपुर, २७ कार्तिक । लौरो अभियानका प्रदेश उम्मेदवार उत्तर प्रसाद घिमिरेले एमालेका उम्मेदवार किरण थापालाई समर्थन गर्ने घोषणा गरेका छन् । शनिबार नेकपा एमाले भक्तपुर क्षेत्र नं.२ निर्वाचन परिचालन कमिटीले सूर्यविनायक नगरपालिका वडा नं.४ दधिकोटमा आयोजना गरेको घरदैलोका क्रममा लौरो अभियानका उम्मेदवार घिमिरेले एमाले उम्मेदवार थापालाई समथर्न गर्ने घोषणा गरे ।

घिमिरेले थापालाई आफ्नो अभियानको लौरो जनतालाई साक्षी राख्दै थापालाई हस्तान्तरण गरे । हस्तातरण पछि घिमिरे एमालेको घरदैलो अभियानमा सहभागिता जनाई जनतासामु भोट माग्दै जनताको घरदैलोमा पुगेका थिए ।

आफ्नो समर्थन एमाले उम्मेदवार थापालाई जनाउँदै लौरो अभियानका उम्मेदवार घिमिरेले आफु कुनै लोभ लालच, प्रभाव तथा दवापमा नपरी स्वतस्फुर्त रुपमा आत्मादेखी नै समर्थन गरेको बताए । एमाले उम्मेदवार थापा र आफ्नो अभियानको निश्चित लक्ष्य नै एउटै भएकाले समर्थन गरेको घिमिरेले बताए । एमालेले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामा खेलेको भूमिका मुलुकको हितमा रहेको उल्लेख गर्दै घिमिरेले एमालेको अभियानलाई समर्थन गर्नु नै अहिलेको लागि उत्तम उपाय भएकाले सम्पूर्ण लौरो अभियानका समर्थकलाई आगामी निर्वाचनमा एमालेमा मतदान गर्न आग्रह गरे ।

एमाले उम्मेदवार थापाले आफु एमालेको मात्र नभई आम जनताको उम्मेदवार भएकाले लक्ष्य र उद्देश्य मिल्ने सम्पूर्ण राजनीतिक दल, स्वतन्त्र तथा आम सूर्यविनायकवासी जनतालाई सूर्य चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गरे । आफु सामाजिक तथा व्यवसायीक क्षेत्रमा समेत संलग्न रही जनताको सेवामा समर्पित भएको उदाहरण प्रस्तुत गर्दै एमाले पार्टीको टिकटबाट आम सूर्यविनायकवासी जनताको प्रतिनिधित्वको लागि निर्वाचनमा होमिएको उम्मदवार थापाले बताए ।

घरदैलो कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेत, एमाले बागमती प्रदेशका सदस्य शशी जंग थापा, जिल्ला अध्यक्ष बचन देउजालगायतका सयौं नेता तथा कार्यकर्ताको साथमा स्थानीयवासीको सहभागिता रहेको थियो । घरदैलो कार्यक्रममा स्वतस्फुर्त रुपमा दर्जनौं जनताले आफ्नो घर अगाडी एमाले उम्मेदवारहरुलाई माला तथा खादा लगाई स्वागत गर्दै विजयको अग्रिम शुभकामना दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्