काठमाडौं, २७ कात्तिक । निर्वाचन आयोगले धनुषा क्षेत्र नं. ३ (१) मधेश प्रदेश सभा सदस्यका उम्मेदवार जीतेन्द्रकुमार यादवलाई सवारी साधनको स्वरुप परिवर्तन गरी माइकिङ गरेको विषयमा २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ ।
नम्बर प्लेट समेत नदेखिने गरी सवारी साधनको स्वरुप परिवर्तन गरी माइकिङ गर्दै निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको प्रतिकूल रहेको आयोगको ठम्याइ छ ।
स्पष्टीकरणमा भनिएको छ “तपाईंको प्रचारप्रसारमा प्रयोग भएको सवारी साधनको श्रव्यदृश्य सामग्री यसैसाथ छ । उक्त सवारी साधन तपाईंको प्रचारप्रसारमा प्रयोग भएको होइन भन्ने आधार कारण के छ ?”, “यदि तपाईंको प्रचारप्रसारमा उक्त सवारी साधन प्रयोग भएको हो भने तपाईंको कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को खण्ड (द) र दफा १४ को खण्ड (ग) को विपरीत हुने भएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारवाही हुनु नपर्ने कारण के छ ?”
आचारसंहिताको दफा १३, जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (द) मा कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपांग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी र्याली आयोजना गर्न प्रचारप्रसार गराउन नहुने व्यवस्था छ ।
आचारसंहिताको दफा १४ को उपदफा (ज्ञ) को खण्ड (क) मा निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोके बमोजिम बढीमा दुईपांग्रे वा तीनपांग्रे वा चारपांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने तर विदेशी नम्बर प्लेटको सवारी साधनलाई त्यस्तो अनुमति दिइने छैन भन्ने व्यवस्था छ ।
सोही दफाको उपदफा (१) को खण्ड (ख) मा कुनै पदको निर्वाचन प्रचारप्रसारको लागि राजनीतिक दलले खण्ड (क) बमोजिमको प्रक्रिया पूरा गरी सोही बमोजिमको संख्या र प्रकारका सवारी साधन मात्र प्रयोग गर्नुपर्ने व्यवस्था छ । सोही दफाको उपदफा (१) को खण्ड (ग) मा खण्ड (क) र (ख) बमोजिम अनुमति प्राप्त गरेको सवारी साधनको स्वरुप परिवर्तन गरी प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ ।