बखतियार अलि–सर्लाही, २८ कार्तिक । सर्लाही २ को प्रतिनिधिसभाको लागि लोसपाका उम्मेदवार राजेन्द्र महतोले आफ्नो जित सुनिश्चित् रहेको बताएका छन् । उनले आफू नै पाँच दलीय गठबन्धनको साझा उम्मेदवार रहेको पनि दाबी गरे ।
आज (सोमबार) सञ्चारकर्मीहरुसँगको संक्षिप्त अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । उनले सर्लाहीमा अब जातीय आधारमा कसैले पनि चुनाव नजित्ने भन्दै बरु जनताको काम गर्ने नेतालाई नै विजयी बनाउने विश्वास दिलाए । सो क्षेत्रमा विगत दुई दशकदेखि जितेका नेताहरुले देखिनेगरि कुनै विकास नगरेको उनको आरोप छ ।
उनले अब जनताले विकास गर्नसक्ने नेतालाई जिताउने पनि विश्वास दिलाए । उनले आफूले सो क्षेत्रका मतदाताहरुलाई कुनैपनि किसिमको झुठो आश्वासन नदिएको स्पष्ट पारे । उनले आफूहरु सो क्षेत्रमा भारी मतान्तरले विजयी हुने पनि दाबी गरे । आफूले जितेपछि सो क्षेत्रको समग्र विकास गर्ने पनि दाबी गरे ।
महतोले अहिलेपनि मधेशका जनता विकासको दृष्टिकोणले धेरै पछि परेको गुनासो पोखे । आफ्नो दलले सुरुवातदेखि नै शोषित तथा पीडित जनताको अधिकारको लागि लडेको भन्दै आगामी दिनमा पनि जनताको अधिकारको लागि लड्ने बताए । महतो ०७४ मा धनुषा ३ बाट विजयी भएका थिए । यसपटक भने महतो धनुषा छोडेर सर्लाही आएका हुन् । सर्लाही उनको गृहजिल्ला पनि हो ।