सिन्धुली, २९ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश समृद्ध बनाउन सुदृढ सरकार आवश्यक रहेको बताएका छन् । हिजो (सोमबार) सिन्धुलीको दुधौलीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय सङ्कल्प साकार पार्न सूर्य चिह्नमा मतदान गर्न आग्रह गरेका थिए । उनले देशमा विभिन्न स्वार्थी समूहको गठबन्धन रहेको र त्यो तानातान गर्ने समूह देशका लागि नचाहिएको भन्दै निर्वाचनपछि सुदृढ राष्ट्रिय शक्तिको देशको आवश्यकता एमालेले पूरा गर्ने बताए। ओलीले मंसिर ४ पछि एमाले सरकार बन्ने वताउँदै त्यसका लागि सिन्धुलीबाट एमालेका सबै उम्मेदवारलाई विजयी बनाई पठाउन आग्रह गरे ।
एमालेले घोषणापत्रमार्फत ल्याएका २० ग्यारेन्टीको कार्यान्वयन का लागि पनि एमालेका उम्मेदवारलाई विजयी बनाउन उनले सिन्धुलीवासीलाई आग्रह गरे । बालबालिका, बृद्धबृद्धा सबैका लागि एमाले नै चाहिएको अध्यक्ष ओलीले बताए ।
महिला तथा किशोरीलाई स्यानेटरी प्याडका लागि बार्षिक एकहजार पाँच सय रुपियाँ दिने व्यवस्था एमालेले घोषणापत्रमार्फत ल्याएको जानकारी गराउँदै यो व्यवस्था कसैले पनि हटाउन नसक्ने बताए । उनले सुनकोशी मरिण डाइभर्सन, मदनभण्डारी राजमार्ग देशको आर्थिक समृद्धिका आधार भएको बताए ।