Logo

एमालेको चुनावी रणनीति देखेर गठबन्धनका दलमा करेन्ट लागेको छ : महेश बस्नेत



भक्तपुर, १ मंसिर । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा एमाले भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले एमालेको पार्टी संगठन विस्तार र चुनावी रणनीतिका कारण भक्तपुरको गठबन्धनका दलहरुमा करेन्ट लागेको बताएका छन् ।

क्षेत्रीय निर्वाचन परिचालन कमिटीले आज मध्यपुर थिमी नगरपालिका वडा नं। ६ चपाचोमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता बस्नेतले एमालेको चुनावी अभियान देखेर गठबन्धनका दलहरुमा बर्वराहट हुन थालेको बताए । चुनावी एजेन्डा नै नभएपछि गठबन्धनका दलहरुले एमालेको विरुद्धमा भ्रम फैलाउँदै जनताको बिचमा जाने गरेको आफुलाई जानकारी आएको उल्लेख गर्दै उनले कांग्रेसका टोल कमिटीका नेताहरुले नै एमालेमा भोट हाल्ने बताए ।

उनले भने,‘कांग्रेसलाई भक्तपुरमा जाडो महिनामा माग्नेको धोती लगाएको जस्तो भएको छ । जाडोमा मागेर लगाएको धोती छ, माथि लगाउँदा मुनी हुँदैन, मुनी लगाउँदा माथि हुँदैन । मध्यपुर तिर दैडियो सूर्यविनायक तिर विग्रएको छ, सूर्यविनायक तिर दौडियो मध्यपुरतिर विग्रीएको छ । त्यसैले एमालेलाई सूर्यविनायक तथा मध्यपुर जता गए पनि स्वागत गरेका छन्, विजयको शुभकामना दिएका छन् । कांग्रेसको टोल टोलमा विद्रोह भएको छ, टोल टोलमा महेश बस्नेत खोजिदैछ, एमाले बोलाईदैछ । कांग्रेसले दवाएर राखेका पिडाहरु निर्वाचनमा विस्फोट भएको छ । त्यसैले मध्यपुर तथा सूर्यविनायकमा कांग्रेसमा तरंग पैदा भएको छ, ठूलो करेन्ट लागेको छ । त्यो तरंग र करेन्टले मंसिर ४ गते एमाले र सूर्य चिन्हलाई नयाँ उचाईमा पुर्याउने छ ।’

 



प्रतिक्रिया दिनुहोस्