नुवाकोट, १ मंसिर । नेपाली कांग्रेसका प्रभवशाली नेता तथा नुवाकोट २ का गठबन्धनका साझा उम्मेदवार अर्जुननरसिंह केसीले मंसिर ४ को चुनावमा हिजोको इतिहास र भोलिको भविष्यलाई बोक्न सक्नेलाई जिताउन अपिल गरेका छन् । उनले कुनै पनि उमेदवारले व्यक्तिगत आलोचना र विरोध गरेर समय खेर फाल्न नहुने भन्दै जनतासामु आफू र गठबन्धनले स्पष्ट योजना र मन जितेर अगाडि बढेको बताए ।
उनले सम्बोधनको क्रममा मंसिर ४ गते जनताले आफ्नो प्रतिनिधि चुन्दा सिंहदरबार डराउने प्रतिनिधि छानेर पठाउनुपर्ने पनि बताए । सिंहदरबारमै हराउने प्रतिनिधि पठाउन नहुने उनको भनाई छ । उनले आफू जिल्लावासीको हरेक सुख र दुःखमा साथै रहेको पनि विश्वास दिलाए ।
नेपाली जनताले पहिलोपटक प्राप्त गरेको सार्वभौमसत्ता, संविधान रक्षाको निम्ति पाँच दलीय गठबन्धन बनेको उनको स्पष्टोक्ति थियो । व्यक्तिगत स्वार्थ वा फाइदा हेरेर गठबन्धन नगरिएको उनको भनाई छ । सो क्रममा उनले तामाङ बस्तीको बाहुल्यता रहेको नुवाकोटमा आफ्नो क्षेत्रमा तामाङ जातिको भेषभुषा र संस्कृति जोगाउन तामाङ संग्रहालय निर्माण गर्ने पनि उनले योजना सुनाए ।
उतरगया, देवीघाटलगायत महत्वपुर्ण धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास, जलविद्युत र बेलकोट र बिदुर नगरपालिकाभित्र उद्योगग्राम बनाउने नेता केसीको घोषणा छ । आफ्नो हातखुट्टा चलुन्जेल सो क्षेत्रको विकासमा लागिरहने पनि उनको प्रण छ ।