काठमाडौं, ३ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान हुने दिन आउन एक दिन मात्र बाँकी छ । यस क्रममा आफ्नो भाग्य र भविष्यको फैसला गर्न मतदाताहरु आफ्नो थलो फर्कने क्रम जारी छ ।
अहिलेसम्म राजधानीबाट मात्रै आठ लाख मतदाता बाहिरिएको नेपाल राष्ट्रिय स्वतन्त्र यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सिटौलाले भने, ‘कात्तिक १५ देखि काठमाडौंबाट बाहिरिने क्रम सुरु भयो । त्यतिबेला राजनीतिक पार्टीका नेता, कार्यकर्ता, सुरक्षा निकाय गए भने । कात्तिक २५ गतेदेखि हिजोसम्म सार्वजनिक यातायातमा मतदाताको चाप बढ्यो । अहिलसम्म आठ लाखको हाराहारीमा मेचीमहाकाली पुगेको हाम्रो तथ्यांक छ ।’
यसपटक राजनीतिक दलहरुले नै बुकिङ गरेर लगेको पनि उनले बताए । सिटौलाले थपे, ‘हिजो बेलुकीसम्म अलि टाढाका जिल्लाका गए भने आज राजधानी नजिकका जिल्ला रसुवा, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गोरखा, तनहुँ, रामेछाप, सिन्धुलीमा जाने धेरै छन् ।’
एउटा मतले पनि मुलुकको भाग्य र भविष्य बदलिन सक्ने भएकाले मतदातामा उत्साह देखिएको पनि उनले बताए । सिटौलाले भने, ‘सवारी साधनमा कुनै पनि समस्या छैन । जान चाहनेले सजिलै सार्वजनिक सवारी साधनको नियमित टिकट पनि पाउँछन् । साधन नपाएर कोही अड्किनु पर्दैन । गाडी धनीसँग समन्वय गरेर दलहरुले नै पठाएका पनि छन् । यसक्रममा कुनै अप्रिय दुर्घटना भएको पनि छैन ।’ यस पटक ऐतिहासिक ढंगले निर्वाचन सफल हुने पनि सिटौलाले बताए ।