Logo

वृहस्पति बाबा मन्दिरको संरचना भत्काएकोमा सत्संग समाजको आपक्ति, तत्काल पुनःनिर्माण गर्न आग्रह (भिडियोसहित)



काठमाडौं, ६ मंसिर । विश्व नेतृत्व मूल गुरु वृहस्पति सत्संग समाजले वृहस्पति बाबा मन्दिरको संरचना भत्काएकोमा विरोध जनाएको छ ।

मन्दिर मकवानपुरको टिस्टुङमा विस्तार गर्नेबारे बजेटिङ्ग, ढुवानी व्यवस्थापनको बारेमा निष्कर्ष ननिस्कदै मन्दिरको संरचना भत्काएको भन्दै समाजले आपक्ति जनाएको हो ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समाजले भत्काइएको संरचना तत्काल पुनःनिर्माण गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

घरनीति, अर्थनीति, राजनीति बिग्रियो भने घर कलह र अशान्ति हुने भन्दै यसबाट मुक्त हुन सत्संग अपरिहार्य भएको समाजको ठहर छ ।

पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ अधिवक्ता ज्योतिजंग रायमाझीले मुलुकमा धर्ममा हुनुपर्ने जति विकास हुन नसकेको धारणा राखे । नेपालको इतिहासलाई हेर्दा धार्मिक आधारमा राज्य सञ्चालन हुने गरेको उनले सुनाए । उनले भने,‘धार्मिक आधारमा यो देशमा राज्य रजौटाहरुले राज्य संचालन गरेका थिए । धर्मको आधारमा निर्माण भएका संस्कृति संस्कार अझै पनि छन् ।’ धार्मिक संस्थाहरुको विकास र संरक्षण गर्नुपर्नेमा सरकारले उक्त दायित्व पुरा नगरेको उनले टिप्पणी गरे । देशमा अहिले धर्म नाश गर्नेहरुको जगजगी भएको उनको भनाइ थियो ।

यसैगरी, सत्संग समाजका प्रवक्ता मनोज रावलले गुरु भन्दा ठुलो केही नहुने भन्दै ज्ञान दिने उद्देश्यले मन्दिरको स्थापना भएको बताएका छन् । उनले भने,‘नेपाल तपोभूमी हो । सातौ शताब्दीमा विक्रम सम्बतका छोराले लेखेको अभिलेखमा नेपालको नाम स्वर्ण अक्षरमा लेखिएको छ । नेपालमा जन्म लिनु स्वर्ग जत्तिकै हो । येशु परमेश्वरले पनि नेपालमा आएर शिक्षा लिएका छन् ।’ उनले नेपालले तनावग्रस्त विश्वलाई मार्गदर्शन दिनुपर्नेमा जोड दिए ।

त्यस्तै,पुनरुत्थान पार्टीका अध्यक्ष शेखरजंग रायमाझीले नेपाल सनातन परम्परा, ज्ञानभूमि, तपोभूमी भएको बताएका छन् । उनले सम्पुर्ण नेपालीहरुको सनातन परम्परामाथि आस्था रहेको समेत दाबी गरे । शास्त्रअनुसार गुरु शिष्य परम्परा नेपालमा सदियौं वर्षदेखि चलिआएको उनले बताए । वृहस्पती संत्सग समाज स्थानीयहरुको आस्थासँग जोडिएको भन्दै उनले संत्सगको संरचना भत्काएर सरकारले गल्ती गरेको टिप्पणी गरे । जनताको इच्छा विपरित सत्संगको संरचना भत्काइएको भन्दै उनले भने,‘जनताको मनोभावना विपरित, अन्यायपुर्वक संरचना भत्काइएको छ त्यसको म घोर भत्र्सना गर्छु ।’ राज्यले भत्काईएको संरचना तत्काल पुनःनिर्माण गर्न उनले जोडदार माग गरे । देश संकटमा रहेको भन्दै उनले राष्ट्रको पहिचान र अस्तित्वमाथि हमला भइरहेको टिप्पणी गरे ।

कार्यक्रमको आयोजना विश्व नेतृत्व मूल गुरु बृहस्पति सत्संग समाज संरक्षक वरिष्ठ राजनीतिज्ञ ज्येष्ठ नागरिक विष्णुभक्त तण्डुकारले गरेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्