Logo

जनता माओवादीसँग रिसाएका छन् तर साथ छाडेका छैनन्ः लेखनाथ दाहाल



काठमाडौं, ८ मंसिर । सिन्धुली २ का नवनिर्वाचित सांसद एवं नेकपा (माओवादी केन्द्र) का नेता लेखनाथ दाहाल (राजन) ले आफ्नो पार्टीको जितहारमा आन्तरिक कारण नै प्रमुख रहेको बताएका छन् ।
‘हरेक जितहारमा आन्तरिक कारण नै प्रधान हुन्छ । बाह्य कारण त सहयोगी मात्रै हो । हामीले अब आफ्ना कमीकमजोरीको निर्मम समीक्षा गर्नुपर्छ । त्यसपछि गठबन्धन दलहरुबीचमा पनि निर्मम समीक्षा गर्नुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै दाहालले भने ।
कांग्रेसले धोका दियो भन्न सकिने अवस्था नरहेको पनि दाहालले बताए । उनले थपे, ‘मूलभूत रुपमा गठबन्धन एकताबद्ध नै थियो । कांग्रेसको सबै मत एकीकृत गर्न नसके पनि उसको नियतमा शंका गर्ने ठाउँ छैन । कांग्रेसको स्कुलिङ मन परेन भने आफ्नै दललाई पनि भोट नहाल्ने किसिमको छ । प्रारम्भिक नतिजामै यस्तो निष्कर्षमा पुग्नु हतारो हुन्छ ।’
जनताले माओवादीको साथ नछाडेको पनि उनले दाबी गरे । दाहालले भने, ‘मतार्जनका लागि हामीले जसरी भूमिका निर्वाह गर्न सक्नुपथ्र्यो, त्यो हुन नसकेकै हो । जनतासँग हामीले घनिष्ट सम्बन्ध राख्न सकेनौं । अरु पार्टी राम्रा भएर भन्दा पनि जनता हामीप्रति रिसाएका छन् तर साथ छोडिसकेका छैनन् ।’
आगामी सरकार गठबन्धनकै बन्ने र गठबन्धन कायम हुने पनि उनले औंल्याए । सांसदका रुपमा जनताले अपेक्षा गरे बमोजिम सचेत पहल र सबल भूमिका निर्वाह गर्ने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्