इलाम, मंसिर ९ । इलाम क्षेत्र नम्बर १ को स्थगित मतगणना गएराति पुनः सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार रातिदेखि बिहानसम्म समानुपातिकतर्फको गणना भएको छ भने अहिले बिहानदेखि प्रत्यक्षतर्फको गणना सुरु भएको छ।
प्रत्यक्षतर्फको मतपत्र समानुपातिकको मतपेटिकामा परेको तर सुरुमा प्रत्यक्षको मात्रै गणना गर्दा समानुपातिकको मतपेटिकामा रहेको मतपत्रबारे अन्योल हुने भन्ने विषयमा विवाद उत्पन्न भएको थियो। विवादका कारण बिहीबार दिनभर गणनास्थलमा तनाव सिर्जना भएको थियो।
अहिलेसम्मको गणनामा समानुपातिकतर्फ प्रतिनिधिसभासभा र प्रदेशसभा दुवैतर्फ नेकपा (एमाले) अग्र स्थानमा छ। प्रतिनिधिसभामा एमालेले ७ हजार ७ सय १० मत ल्याएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको ५ हजार ३ सय ७६ मत आएको छ। तेस्रो स्थानमा नेकपा (एकीकृत समाजवादी)ले २ हजार ५ सय ६४ मत ल्याएको छ।
प्रदेशसभातर्फ एमालेको ७ हजार ४ सय ८७ र नेपाली कांग्रेसको ४ हजार ६ सय ६५ मत छ। नेकपा (एस)को १ हजार ९ सय ८१ मत आएको कार्यालयले जनाएको छ।