Logo

प्रचण्ड भेट्न खुमलटार पुगे पूर्णबहादुर खड्का, सरकार गठनको गृहकार्यबारे छलफल



काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका उपसभापति एवम् सुर्खेत–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद पूर्णबहादुर खड्काले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । दाहाललाई भेट्न खड्का आज दाहाल निवास खुमलटार पुगेका हुन् ।

निर्वाचनको मतपरिणाम करिब करिब सार्वजनिक भैरहेको अवस्थामा खड्काले प्रचण्डसँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । दाहालले आफ्नै नेतृत्वमा सरकार गठनको लागि पहल थालेका छन् । तर, कांग्रेस ठूलो दल भएकोले उनले प्रधानमन्त्रीमा खुलेर दाबी गर्न सकेका छैनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले खेलेको भूमिकाको स्मरण गराउँदै दाहालले एकपटक आफूलाई प्रधानमन्त्री बन्न दिन आग्रह गरेका छन् । दाहालको प्रस्ताव देउवा पनि सकारात्मक सुनिएका छन् ।

यही सन्दर्भमा आज खड्काले दाहालसँग भेट गरेका हुन् । सुर्खेतबाट काठमाडौं ओर्लनेबित्तिकै खड्काले पार्टी सभापति एवम् प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका थिए । त्यसको भोलिपल्ट आज दाहालसँग भेटवार्ता गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्