काठमाडौं, १९ मंसिर । टोखा नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छ हजार पाँच सय ७५ विद्यार्थीको निःशुल्क स्वास्थ्यपरीक्षण गर्ने भएको छ । नगरपालिकाले उपप्रमुखसँग बालबालिका कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा १० सामुदायिक र तीन वैकल्पिक विद्यालयमा अध्ययनरत छ हजार पाँच सय ७५ विद्यार्थीलाई वर्षको एकपटक निःशुल्क स्वास्थ्यपरीक्षण गर्न लागेको हो ।
नगरपालिकाका शिक्षा अधिकृत खगेन्द्रसिंह धामीले उपप्रमुखसँग बालबालिका कार्यक्रमअन्तर्गत सबै सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई विद्यालयमै गएर निःशुल्क स्वास्थ्यपरीक्षण गर्न लागिएको राससलाई जानकारी दिनुभयो । “स्वास्थ्यपरीक्षण अन्तर्गत नाक, कान, घाँटी, दाँत, मुटु, प्रेसर, रगत समूहलगायतको परीक्षण गरिन्छ, परीक्षण गर्दा जटिल प्रकृतिको रोग देखिएमा अन्य अस्पतालमा सिफारिस गरिन्छ”, उहाँले भन्नुभयो । टोखाले उक्त कार्यक्रम सञ्चालन गर्न चालू आवमा रु २० लाख बजेट विनियोजन गरेको छ ।
टोखामा हाल बौडेश्वर मावि, झोर महाङ्काल मावि, सरस्वती मावि, चण्डेश्वरी मावि, जालुपा मावि, तिलिङ्गाटार मावि, धापासी मावि, मनोहर मावि, चुनदेवी आधारभूत विद्यालय र महादेव आधारभूत विद्यालय रहेका छन् । यस्तै, चेतना महिला वैकल्पिक विद्यालयु, बुद्ध नमूना वैकल्पिक विद्यालय र शुभश्री वैकल्पिक विद्यालय रहेका छन् ।