काठमाडौं, मंसिर २३ । लितपुरको ग्वार्को चोकमा आजदेखि सुरु भएको फ्लाई ओभर निर्माण कार्यले त्यसक्षेत्रको ट्राफिक ब्यबस्थापनमा फेरबदल गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार कोटेश्वरबाट सातदोबाटो तर्फ जाने यात्रुबाहक, माहलबाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनहरूलाई फास्ट ट्रयाकबाट सुचारु राखिएको छ ।
त्यस्तै कोटेश्वरबाट सातदोबाटो तर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने छ ।
बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वर तर्फ आउने यात्रुबाहक, माहलबाहक तथा दुईपाङ्ग्रे सवारी साधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनलाई फास्ट ट्रयाकबाट संचालन गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। यो ब्यबस्था फ्लाई ओभरको निर्माण कार्य सम्पन्न नभएसम्म लागु रहने छ ।