Logo

पद प्राप्तिको मूल्यमा संविधानको व्यापार नगर्न गगन थापालाई गंगा श्रेष्ठको सुझाव



काठमाडौं, २४ मंसिर । नेपाल समाजवादी पार्टीका प्रभावशाली नेता तथा बाग्मती प्रदेशका नवनिर्वाचित सांसद गंगा श्रेष्ठले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई संविधानको व्यापार नगर्न सुझाव दिएका छन् । हालै गगनले संघीयताबारे दिएको अभिव्यक्तिलाई लिएर श्रेष्ठले आलोचना गरेका हुन् । उनले फेशबुकमार्फत आज आफ्नो धारणा राख्ने क्रममा थापालाई सम्बोधन गरेर लेखेका छन्–‘त्यसैले प्रिय मित्र गगनजी आउनुहोस् यो सङ्घीयतालाई सङ्घवादको सिद्धान्तमा आधारित सङ्घीयता बनाऔं । यथास्थितिको विकल्प अग्रगामी सोंच र एजेन्डामार्फत दिऔं । पद प्राप्तिको मूल्यमा कसैले पनि संविधानको व्यापार नगरौं ।’

उनले फेशबुकमा यस्तो लेखेका छन्–

गगनजी !
नेपालको संविधान २०७२ कसैले सित्तैमा दान, बक्सिस, उपहार दिएको होइन भन्ने कुरा आन्दोलनमा तपाईंको टाउको बाट बगेको रगत साक्षी छ । यो संविधान नेपाली नागरिकले रगतसँग साटेको हो । यसका प्रत्येक अक्षरहरू रगतले लेखिएका छन् । यसर्थ यस संविधानको रक्षा गर्नु तपाईं हाम्रो पहिलो कर्तव्य हुन आउँछ ।
तर विडम्बना ! यथास्थितिको विकल्प खोज्ने नाममा वा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रयासमा सङ्घीयता मासेर पुनः एकात्मक र केन्द्रीकृत प्रणाली चाहिन्छ भन्नू हिजो आफैंले बगाएको रगतको अपमान होइन र ? निश्चय नै म पनि अहिलेको यथास्थितिको अग्रगामी विकल्प खोज्नुपर्छ साथै पार्टी र राज्य दुबै ठाउँमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण हुनैपर्छ भन्ने कुरामा चट्टान झैँ दृढ छु ।
प्रधानमन्त्री बनेर देशको नेतृत्व गर्ने सपनासहित प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ । त्यसका लागि बधाई ! म पनि मुख्यमन्त्री बनेर वागमती प्रदेशको नेतृत्व गर्ने सपनासहित प्रदेश सभामा निर्वाचित भएर आएको छु । तर म मुख्यमन्त्रीसँग सङ्घीयता साट्ने पक्षमा छैन ।
अहिलेको सङ्घीयता सङ्घवादको सिद्धान्तमा आधारित सङ्घीयता होइन । त्यसैले यो सङ्घीयतालाई कसैले पनि सुन्दर देख्न सकिरहेका छैनन् । सन्तान सुन्दर जन्मिएन भनेर सन्तानको हत्या गरिन्छ कि त्यसलाई सुन्दर बनाउनेतर्फ लागिन्छ ? सुन्दर बनाउनेतर्फ लागिन्छ ।
त्यसैले प्रिय मित्र गगनजी ! आउनुहोस् यो सङ्घीयतालाई सङ्घवादको सिद्धान्तमा आधारित सङ्घीयता बनाऔं । यथास्थितिको विकल्प अग्रगामी सोंच र एजेन्डामार्फत दिऔं । पद प्राप्तिको मूल्यमा कसैले पनि संविधानको व्यापार नगरौं ।

 



प्रतिक्रिया दिनुहोस्