काठमाडौं, २६ मंसिर । ललितपुर जिल्ला दलित संघकी पूर्वसभापति नानीमैयाँ नेपालीले सामानुपातिक सांसद चयनमा ललितपुरमा चरम विभेद भएकोप्रति आपत्ति जनाएकी छन् । उनले आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आफ्नो असन्तुष्टि पोखेकी हुन् । उनले आफूले सुरुवातदेखि नै महिलाको लागि आवाज उठाउने गरेको आईन् । उनले महिला भएको नाताले पहिला महिलाको आवाज उठाउने गरेको र त्यसपछि दलितको आवाज उठाउने गरेको सुनाईन् ।
नेपाली कांग्रेसमा उपत्यकाका ३ जिल्लामा प्रतिनिधिभामा जान उपयुक्त र सक्षम दलित जनप्रतिनिधिहरु भएपनि पार्टीले दलितबाट प्रतिनिधिसभामा जाने अवसरबाट आफूहरुलाई वञ्चित गरेको उनको दाबी छ । उनले भनिन्–‘दलितबाट नेपाली कांग्रेसमा ललितपुर जिल्लाका ३ क्षेत्रमा केन्द्रलाई हाँक्नसक्ने महिला लगायत जनप्रतिनिधिहरु हुनुहुन्छ तर, हामीहरुलाई उक्त अवसरबाट वञ्चित गरियो ।’
पूर्वसभापति नेपालीले नेपालमा संघीयता र समानुपातिक दुवै खारेज गर्नुपर्ने माग गरेकी छन् । संघीयता र समानुपातिक खारेज भए युवा र जनताका चाहना पुरा हुने उनको दाबी छ । उनले भनिन्–‘समानुपातिक कोटा बोल्न नसक्ने, आफ्नो आवाज सदनमा उठाउन नसक्ने दलित, जनजाति, लोपोन्मुख, चेपाङ, राउटेलगायत पिछडिएका वर्गहरुको आवाज सदनमा पुर्याउनका निम्ति राखिएको हो ।’
उनले आफूलाई पनि समानुपातिकतर्फ सांसदमा नाम सिफारिश हुन्छ भन्ने आशा रहेको थियो भन्ने स्मरण गराईन् । तर, नेपालमा समानुपातिक कोटाको चरम दुरुपयोग भएको उनको आरोप छ । उनले उपत्यकाबाट दलित महिला प्रतिनिभिसभा जान सिफारिसमा नपरेकोमा आफू निक्कै दुखी भएको उल्लेख गरिन् ।