काठमाडौं, २८ मंसिर । संघीय संसद् सेवाको सर्वोत्कृष्ट पुरस्कार उपसचिव सिर्जना बराललाई प्रदान गरिएको छ । १ लाख रूपैयाँ राशिको उक्त पुरस्कार आज (बुधबार) संघीय संसद् दिवसको अवसरमा आयोजित एक समारहोकाबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बराललाई प्रदान गरेका हुन् । सो क्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय निजामती ऐनलाई छाता ऐन भनेर दुष्प्रचार गरिएको गुनासो पोखेका छन् ।
संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले संघीय निजामती ऐनलाई छाता ऐन भनेर प्रचार गरी अघि बढ्दा संघीय निजामती ऐन प्रभावकारी बन्न नसक्ने बताए । उनले निजामती सेवा ऐन राजनीतिक दलहरू र मन्त्रीहरूले मात्रै नरोकेको बताए । उनले निजामती सेवा ऐन सेवा ऐनभित्रका विशिष्ट अधिकृतहरूका आफ्ना खालका स्वार्थहरूका कारण रोकिएको टिप्पणी गरे ।
उनले विशिष्ट अधिकृतहरूका उमेरहद बढाउनेलगायत चाहनाका कारण निजामती सेवा ऐन रोकिएको बताए । अध्यक्ष तिमिल्सिनाले सबैका लागि सेवा प्रभावकारी बनाउने कुरामा कर्मचारीहरूले ध्यान दिन जरुरी रहेको पनि बताए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम