शरद रेग्मी दाङ, २ड मंसिर । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा बुधबारबाट मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले कामकाज थालेको छ । मंसिर १९ गते बुटवलबाट मुख्यमन्त्री कार्यालय राजधानीमा सारिएको थियो । राजधानी सारिएको बिषयमा बुटवलमा विज्ञप्ती र ज्ञापनपत्र मार्फत विरोधका स्वरहरु बाहिर आए ।
मुख्यमन्त्री कुलप्रसाद केसी कार्यालय सर्नु अघिनै त्यहाँबाट देउखुरी झरिसकेका थिए । राजधानी कार्यान्वयनलाई अन्तिम रुप दिन उनी आफै खटे । पूर्वाधार विना राजधानी सार्न खोजिएको आरोप खेपे । तर, राजधानी स्थापना गरिएको स्थल पूर्वाधार युक्त छ । जहाँ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय स्थापना गरेर समेत कामकाज थालिसकिएको छ ।
अव बाँकी मन्त्रालयहरु आउने क्रममा छन् । अर्थ, कानुन, पूर्वाधार, महिला तथा बालबालिका लगायतका मन्त्रालयले भवन मर्मत थालिसकेका छन् । अवको महिना दिन भित्र ती मन्त्रालय यहि परिसर भित्र रहनेछ । बाँकी अन्य मन्त्रालयको लागी परिसर बाहिर भवनहरु खोजिएको छ । वडा कार्यालय तथा सरकारी भवनमा मन्त्रालयहरु राख्न थालिएको छ । बुधवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय उद्घाटनलाई उत्सवमय बनाइएको छ । स्थानीय र प्रदेश सरकार विचको समन्वयको आधारमा राजधानी कार्यान्वयनलाई उत्सवमय बनाइएको हो ।
गाउँगाउँबाट झाँकी सहित मानिसहरु राजधानी हेर्न पुगे । खुसी भए, अनी राजधानीले अवसर, विकास, रोजगारी ल्याओस भन्ने चाहना आम सर्वसाधारणको छ । प्रदेश संरचना स्थापना भएको पाँच बर्ष पुरा हुदैछ । प्रदेश संरचना आवश्यक नभएको चर्चाहरु हुने गर्छन् । तर, प्रदेश सरकार भएको अनुभुती नागरिकले गर्न चाहेका छन् । त्यसको आकांक्षा बुधवारको उपस्थितीले दर्साएको छ । प्रदेश प्रमुख अमिक शेरचनले आधुनिक राजधानी शहर अवको योजना हुनुपर्ने बताए ।‘काठमाण्डौं जस्तो साँघुरो होइन, यहाँ बन्ने राजधानी सबै हिसावले उत्कृष्ठ र आधुनिक हुनेछ’उनले भने,‘राजधानी आयो जग्गा महंगो मात्रै भयो भनेर मख्ख नपर्नुहोला, राजधानीको अनुचित भन्दा उचित लाभ लिने बारेमा सोच्नुहोला ।’
मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश संघियता कार्यान्वयनमा जीत निकालेको टिप्पणी गरे ।‘संघियता कार्यान्वयनमा लुम्बिनीले जीत निकाल्न सफल भयो’उनले भने,‘प्रदेशका सबै जनताको जीत हो ।’ निवर्तमान सभामुख पूर्णबहादुर घर्तीले सुन्यबाट सुरु भएको प्रदेश सभा अहिले आफ्नै संरचनाबाट सुरु हुनु सुखद भएको बताए । प्रदेश प्रमुख सचिव डाक्टर दिपक काफ्लेले राजधानीबाट प्रदेशको प्रशासन चल्ने बताए ।