काठमाडौं, २९ मंसिर । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्रीमा हानथाप भए पनि पाँच दलीय सरकार बन्ने सम्भावना रहेको बताएका छन् ।
‘कुनै दलको बहुमत नआएपछि दुई वा दुईभन्दा बढी दलको सरकार बनाउन सक्ने संवैधानिक प्रावधान हो । बाहिरबाट हेर्दा केही दललाई मिलाएर गठबन्धन सरकार बन्ने सम्भावना छ । तर प्रचण्ड महत्त्वाकांक्षी पात्र हुन् । उनले जुनसुकै बेला प्रधानमन्त्री बन्ने प्रयास गर्छन् । प्रचण्डलाई कसरी व्यवस्थापन गरिन्छ, पावर सेयरिङ कसरी हुन्छ, त्यस आधारमा गठबन्धनको बन्ने-नबन्ने यकिन होला,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै त्रिपाठीले भने ।
उनले खिलराज रेग्मीलाई राष्ट्रपति बनाउने प्रस्तावलाई लिएर आश्चर्य प्रकट गरे । त्रिपाठीले भने, ‘खिलराज त राजनीतिमा सक्रिय पात्र होइनन् । उनलाई व्यवस्थापन नगरी नहुने के बाध्यता छ ? पहिले प्रधानन्यायाधीश हुँदाहुँदै सरकार प्रमुख भए । अहिलेको राष्ट्रपतिमा उनको नाम कसरी आयो ?’ राष्ट्रपतिमा संवैधानिक मूल्य र मर्यादामा काम गर्न सक्ने व्यक्ति चाहिएको भने उनले स्वीकारे ।
उनले विवादास्पद अध्यादेश राष्ट्रपतिबाट रोकाउने भन्दा पनि कुनै पनि बिन्दुमा गएर सरकारले नै फिर्ता गर्नुपर्ने बताए । त्रिपाठीले भने, ‘संसदको अधिवेशन बोलाउने बेला भइसकेको छ । यो म्याद गुज्रिइसकेको कुरुवा सरकार हो । यसलाई अध्यादेश ल्याउने अधिकारै छैन । सरकार बनाउने कुरामा वा कुनै पार्टी हितमा यसको दुरुपयोग गर्न पाइँदैन । अपवादको व्यवस्थालाई नियम बनाउन मिल्दैन । हामीले कानुनी-राज खोजेको हो, अध्यादेश-राज होइन । सरकारले नै अध्यादेश फिर्ता गर्नुपर्छ । सरकार बनाउने कुरामा वा कुनै पार्टी हितमा यसको दुरुपयोग गर्न पाइँदैन ।’
रवि लामिछाने नागरिकता प्रकरणमा भने उनले कुनै टिप्पणी गर्न चाहेनन् ।