Logo

सिके राउतको नजर ‘कृषि मन्त्रालयमा’



काठमाडौं, २९ मंसिर । जनमत पार्टीका अध्यक्ष एवम् नवनिर्वाचित सांसद डा. सिके राउत नयाँ बन्ने सरकारमा सहभागी हुनेगरि छलफलमा जुटेका छन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा राउत सप्तरीबाट निर्वाचित भएका हुन् । उनले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका हुन् ।

राउतले आफूले प्रत्यक्षमा एक सिट जिते र आफ्नो दललाई राष्ट्रिय दल पनि बनाए । प्रतिनिधिसभामा उनको दलको ६ सिटको प्रतिनिधित्व छ । राउतले यो बीचमा काठमाडौंमा उच्चस्तरका भेटवार्ता गरिसकेका छन् । सबै भेटवार्तामा उनले बधाई साटासाटसँगै नयाँ सरकार गठनमा आफ्नो सहभागिताबारे पनि छलफल गरेको चर्चा छ ।

उनले वर्तमान पाँच दलीय गठबन्धनको नेतृत्वमा बन्ने सरकारमा आफू सहभागी हुने स्पष्ट पारिसकेका छन् । आफूनिकट नेताहरुसँगको कुराकानीमा पनि उनले सरकारमा गएर जनपक्षीय काम गरेर देखाउने ईच्छा र योजना सुनाउने गरेका छन् । उनीनिकट स्रोतकाअनुसार राउतले सरकारमा सहभागिता हुँदा कृषि मन्त्रालय रोज्ने भएका छन् ।

हुन त पत्रकार ऋषि धमलासँगको कुराकानीमा पनि उनले सरकारमा प्रतिनिधित्व हुँदा आफूले कृषि मन्त्रालय लिने बताएका थिए । त्यसको अलावा उनले रोजगारी सिर्जना गर्ने मन्त्रालयमा नेतृत्व गर्न मन लागेको पनि सुनाएका थिए । पछिल्लो समय राउत नेतृत्वको पार्टीले मधेशमा किसानका एजेण्डालाई प्रभावकारी रुपमा उठाएको थियो ।

उनी आँफै किसानका समस्या समाधानको लागि आन्दोलनमा उत्रिएका थिए । त्यसैले उनले यही मन्त्रालयको नेतृत्व लिन चाहेका छन् । मुलुकको अर्थतन्त्र नै कृषिमा आधारित रहेकोले यसको आधुनिकीकरणमा जोड दिने उनको योजना छ ।

गठबन्धनका शीर्ष नेताहरुले पनि राउतलाई सरकारमा सहभागी गराउन चाहेका छन् । र, राउतले रोजेको मन्त्रालय दिन सकारात्मक छन् । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनको परिणाम आज राष्ट्रपतिसमक्ष बुझाईसकेको छ । आगामी आइतबारसम्म राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गर्ने बुझिएको छ ।
file photo



प्रतिक्रिया दिनुहोस्