Logo

सप्तरीमा पाँच मुसहरको मृत्यु कुपोषणलेः स्वास्थ्य सचिव



काठमाडौं, २ पुस । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सप्तरीको कन्चनरुप नगरपालिकाका दुई सातायता विपन्न पाँच मुसहरको मृत्यु भएको सम्बन्धमा छानबिन भइरहेको बताएका छन् ।
‘हामीले पोषणको कमी भएकाले मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ । यो निकै दुःखदायी समाचार हो । हामीकहाँ तीन तहको सरकार छ । त्यहाँको समस्या स्थानीय सरकारले हेर्नुपर्ने हो । ७५३ तहको कुरा केन्द्रीय सरकारलाई थाहा नहुन पनि सक्छ । यसबारे हामीले कञ्चनरुपका नगरप्रमुखसँग पनि कुराकानी गरेका छौं । यसबारे हामी छानबिन गर्दैछौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. पोखरेलले भने ।
उनले सरकारी अस्पतालमा ५० हजार खर्च कतै पनि नलाग्ने पनि बताए । डा‍. पोखरेलले भने, ‘अस्पतालमा उपचार महँगो भएकाले घर फर्केकी बबिता नामकी महिलाको मृत्यु भएको पनि हामीले सुनेका छौं । तर सरकारी अस्पतालमा यति धेरै खर्च कसरी लाग्छ ? सरकारी अस्पतालमा त्यत्रो धेरै खर्च लाग्दैन । ५० हजार लाग्छ भन्ने कुरा गलत हो । तीन हजारदेखि १० हजारसम्म लाग्छ बढीमा । यसबारेमा हामीले बीपी कोइराला, गजेन्द्रनारायण सिंह र कोसी अञ्चल अस्पतालमा बुझ्दैछौं । । उनीहरुले कति कारणले उपचार दिन सकेनन् ? यसबारे सत्यतथ्य बुझेर मात्र बोल्छौं । राज्यले नागरिकको उपचार गर्छ र गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्