काठमाडौं, पुस ६ । कांग्रेस संसदीय दलको मतदानका क्रममा केही सांसदहरुले फोटो खिचेको भन्दै गगन थापाले असन्तुष्टि जनाएका छन् ।
संसदीय दलको नेताका उम्मेदवार थापाले मतदानका क्रममा कतिपय सांसदले आफूले दिएको मतको फोटो खिचेको देखेको दाबी गरेका छन् । सांसदहरुलाई मत दिएको प्रमाणका रुपमा फोटो खिचेर ल्याउन लगाइएको भन्दै थापाले सार्वजनिक असन्तुष्टि जनाएका हुन् ।
मतदान सुरु हुनुअघि थापाले निर्वाचन समितिलाई मतदानस्थलमा मोबाइल निषेध गर्नुपर्ने बताए पनि सांसदहरुलाई मोबाइल नै लैजान रोक लगाउँदा उपयुक्त नहुने भन्दै समितिले मोबाइल बोक्न अनुमति दिएको थियो ।
‘मतदानका क्रममा १०र११ जना सांसदले मतपत्रको फोटो खिचेको देखेँ’, थापाले भने, ‘अब फोटो खिचिसकेपछि यसलाई सार्वजनिक गर्ने पनि हिम्मत राख्नुपर्यो नि । मेरो अनुरोध छ, आफ्नो सामाजिक सञ्जालमा ती फोटो पोस्ट गरेर देखाइदिनुस् ।’
दलको नेतामा कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री थापा उम्मेदवार रहेका छन् । निर्धारित समय भन्दा झन्डै ४५ मिनेट ढिलोगरी सुरु भएको मतदान केहिबेर अघि सकिएको छ ।
सिंहदरबार स्थित कांग्रेस दलको कार्यालयमा भएको मतदानमा ८९ मत खसेको छ । केही बेरपछि मत गणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।