काठमाडौं, पुस ७। ‘अहं ‘ स्वदेशं जनताञ्च प्रति पूर्णरूपेण समर्पितः’ संस्कृत भाषामा शपथ लिन तयार पारिएको वाक्य यसरी पूर्ण हुन्छ, ‘‘पदीय गोपनीयतायाः संरक्षणपूर्वकं दृढनिष्ठया सह सम्पादयिष्ये ।’ यसपालि संसद्मा संस्कृत भाषामा पनि शपथ ग्रहण हुँदै छ ।
स्वतन्त्र सांसद किरणकुमार साहले संस्कृतमा शपथ लिने भनी नेपालीको शपथलाई संस्कृतमा उल्था गरेर संघीय संसद् सचिवालयमा बुधबार बुझाएका छन् । संसदीय इतिहासमा संस्कृत भाषामा शपथका लागि पहिलोपटक निवेदन आएको सचिवालयको भनाइ छ ।
संस्कृतमा शपथ ग्रहण गर्न शपथको व्यहोरासहित निवेदन दिएका साह रौतहट–२ बाट निर्वाचित स्वतन्त्र उम्मेदवार हुन् । उनी भन्छन्, ‘मधेस, पहाड, हिमालका बहुसंख्यक जनता हिन्दु समुदायका भएकाले उनीहरूलाई सम्मान गर्ने हिसाबले संस्कृत भाषामा शपथ लिन लागेको हुँ ।’ यसपालि संस्कृतसहित १४ मातृभाषामा शपथ ग्रहण हुँदैछ तर बिहीबार बिहान ११ बजेसम्म पनि मातृभाषामा शपथ लिनेहरूले निवेदन दिन सक्ने संसद् सचिवालयले जनाएको छ ।
बिहीबार १ बजे संसद् भवन नयाँ बानेश्वरमा हुने शपथग्रहण कार्यक्रममा संस्कृतसहित उर्दू, तामाङ, भोजपुरी, थारू, कोईरकोयु, मैथिली, अवधी, नेपाली खस भाषा, नेपाल भाषा, मधेसी भाषा, सन्थाली भाषा, मुसलमान भाषा, हिन्दी भाषासहित १४ भाषामा शपथग्रहण गर्न २६ जना सांसदले संसद् सचिवालयमा आआफ्नो मातृभाषामा शपथ उल्था गरेर बुझाएका छन् । बाँकीले भने नेपालीमा शपथ लिनेछन् । आजको नागरिक दैनिकबाट