काठमाडौं, ७ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी २० सिटसहित संसद्मा चौथो ठूलो दलको रुपमा उदाएको छ । आज नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । सांसदहरुलाई ज्येष्ठ सदस्यको रुपमा पशुपतिशमशेर जबराले शपथ खुवाएका हुन् । सांसदहरुले शपथ खाएसँगै अब नयाँ सरकार गठनको लागि दलहरुले गृहकार्य थालेका छन् । कांग्रेस नेतृत्वको गठबन्धनले यही गठबन्धनलाई निरन्तरता दिँदै गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठनको लागि छलफल थालेको छ ।
तर, शक्ति बाँडफाँडमा कुरा नमिलेको कारण छलफल अघि बढ्न सकेको छैन् । आज गठबन्धनको बैठक बस्दैछ । संसद्को चौथो ठूलो दल रास्वपा पनि सरकारमा सहभागी हुने तयारीमा छन् । यसका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटवार्तामा यसको संकेत गरेका छन् ।
स्रोतकाअनुसार लामिछानेले दाहालसँग सत्ता–सहकार्यबारे लामो छलफल गरेका थिए । उनले आफ्नो दल सरकारमा गएर जनताको पक्षमा काम गर्ने पक्षमा रहेको भन्दै त्यसको लागि सहयोग गर्न आग्रह गरेका थिए । दाहालले रास्वपालाई सरकारमा सहभागी गराउनेबारे सकारात्मक जवाफ दिएको बुझिएको छ । गठबन्धनभित्र निर्वाचनलगत्तै बन्ने नयाँ सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने प्रचण्डको अडान छ । तर, त्यसको लागि कांग्रेस सभापति एवम् वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रष्ट जवाफ दिएका छैनन् ।
प्रचण्ड भने माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदहरुको साथ आफूलाइ रहेको भन्दै कांग्रेससँग शक्ति बाँडफाँडमा वारपार गर्ने अवस्थामा पुगेका छन् । यो बीचमा रास्वपा सभापति लामिछानेसँग भएको भेटवार्तापछि दाहाल प्रधानमन्त्री बन्नका लागि झनै हौस्सिएका छन् ।
उनले लामिछानेको पार्टीको पनि समर्थन रहने विश्वास लिएका छन् । प्रचण्डसँगको भेटवार्तामा लामिछानेले सरकारमा सहभागी हुने शर्तमा आफ्नो दलको समर्थन दाहाललाई नै हुने वचन दिएका छन् । आजै गठबन्धनको निर्णायक बैठक बस्ने भनिएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालपनि अस्पतालबाट डिस्चार्ज भैसकेका छन् । आज पावर–सेयरिङबारे निर्णायक छलफल हुने नेताहरुको भनाई छ ।
उता, प्रचण्डलाई एमाले नेतृत्वले सरकारको नेतृत्व लिनेगरि वाम गठबन्धनको पहल थाल्न प्रस्ताव गरेको कुरा बाहिर आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव लिएर उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रचण्डसँग भेटवार्ता गरेको र नयाँ सरकारको नेतृत्व लिन प्रस्ताव गरेको बुझिएको छ । एमाले र माओवादी दुवै दलका दोस्रो तहका नेताहरु नयाँ सरकार गठनमा सहकार्यको लागि छलफल र भेटवार्तामा सक्रिय छन् । एमाले, माओवादी केन्द्र, जसपा र रास्वपा मिलेर नयाँ सरकार गठन गर्ने अवस्था रहेको एमालेका केही नेताहरुको भनाई छ ।