काठमाडौं, ८ पुष । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ सरकारको नेतृत्व आँफै गर्ने अडानमा छन् । सत्ता गठबन्धनमा नयाँ सरकार गठनबारे भैरहेको छलफल तथा भेटवार्तामा देउवाले पहिलो चरणमा आफू नै प्रधानमन्त्री बन्ने अड्डीमा छन् ।
गठबन्धनको अर्को मुख्य घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भने नयाँ सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने अडान राखेका छन् । देउवा र दाहालको अडानको कारण नयाँ सरकार गठन र शक्ति बाँडफाँडबारे ठोस सहमति हुन सकेको छैन् ।
आज साँझ देउवा र दाहाल निर्णायक छलफलमा जुटेका थिए । तर, दुवै नेताले आ आफ्नो अडान कायमै राखेपछि सहमतिको गाँठो अझै फुकेन । निर्वाचनअघि कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व प्रचण्डलाई सुम्पिनेबारे विशेष सहमति गरेका थिए ।
कांग्रेसकै केही नेताहरुको उपस्थितिमा देउवाले चुनावपछिको सरकारको नेतृत्व दाहाललाई गर्न दिने सहमति गरेपनि नयाँ सरकार गठनको पूर्व सन्ध्यामा भने उनी आँफै नयाँ सरकारको नेतृत्व गर्न तम्सिएका छन् । यसको पछाडि कांग्रेसकै केही नेता र उनकी पत्नी डा. आरजु राणाको हात रहेको कांग्रेस नेताहरुको दाबी छ ।
कांग्रेसका कतिपय शीर्ष नेताहरुले भने देउवाले सहमति पालना गरेर राजनीतिक इमानदारिता देखाउनुपर्नेमा जोड दिएका छन् । प्रचण्डले कांग्रेस नेतृत्वको वर्तमान गठबन्धनबाटै सरकारको नेतृत्व गर्न चाहेका छन् । तर, सरकारको नेतृत्व गर्न नदिए एमालेसँग मिलेर पनि अघि बढ्ने दाहालको तयारी छ । एमालेले नयाँ सरकारको नेतृत्व प्रचण्डलाई गर्न दिनेबारे लचकता देखाएको छ ।
प्रधानमन्त्री माओवादीलाई दिएर अरु महत्वपूर्ण आफूले लिएर अघि बढ्न एमाले तयार रहेको सन्देश खुमलटार पुगिसकेको छ । देउवा यसबारेमा जानकार छन् । उनीपनि प्रचण्डलाई नयाँ सरकारको नेतृत्व सुम्पिन तयार छन् ।
तर, उनीनिकटका नेताहरु र पत्नी आरजुको कारण उनी अलमलिएका छन् । अहिले माओवादी केन्द्रमा देउवा प्रचण्डलाई प्रधानमन्त्री दिने सहमतिबाट किन ब्याक भए भन्नेबारे चर्चा हुन थालेको छ ।