काठमाडौं, ९ पुष । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अब प्रधानमन्त्री हुने चाहना पूरा नहुने ठोकुवा गरेका छन् । सरकार गठनको तयारी चलिरहेको बेलामा ओलीको यस्तो भनाई आएको हो । आज (शनिबार) एमाले प्युठान–काठमाडौँ सम्पर्क मञ्चले पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।
एमालेले यसअघि माओवादीलाई सत्ता गठबन्धन तोडेर आए प्रधानमन्त्री बनाउने आश्वासन दिएको थियो । ओलीले समयमा कदम नचालेकाले प्रचण्डको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको सुनाए । उनले भने, ‘कतिपय जो इच्छा गरिरहेका छन । पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनु भएको छ । तर उहाँले मलाई लाग्छ–ढिलो गर्नु भयो । निर्णय गर्न ढिलो गर्नुभयो । संस्कृतिमा एउटा भनाई छ–आदेश्य, प्रदयेश्य, कर्तव्यश्य करुणा । छिप्रणा क्रिमानष्य कालति प्रवशम भन्ने एउटा नीति श्लोक छ । त्यो भनेको लिनुपर्ने कुराको, दिनुपर्ने कुराको, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नु पर्दछ । भएन भने, होइन भने, समयमा कुनै काम गरिदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ ।’
उनले अघि थपे,’समयले नै त्यसको फल खाइदिन्छ । यदि तपाईले आँप पाकेकै बेला टिप्नु भएन भने खान पनि पाउनु हुन्न, बेच्न पनि पाउनु हुन्न । किनभने त्यो आफैँ झरेर जान्छ । त्यसको रस, त्यसको फल, त्यसको प्रतिफल, त्यसको फाइदा समयले खाइदिन्छ । त्यस्तै हुने अव उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा कदम चाल्नु भएन । अरूले पनि समयमा कदम चालेनन् भने समयमा आफू आफूलाई मात्रै हेरे भने देश फेरी घुमी फिरीकन मध्यावधितिर जाने त्यो सम्भावना पनि छँदैछ । जाँदैन भन्न सकिँदैन । किनभने सरकार गठन नै हुन सकेको छैन स्वार्थको टकरावले भने अनि सञ्चालन कसरी होला ? नेकपा एमाले मात्रै हो हैसियत छ । राष्ट्रिय स्वार्थ बाहेक दलगत स्वार्थ छैन ।’
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम