काठमाडौं, १० पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सुरेन्द्र झाले सत्ता गठबन्धनको निरन्तरतामै देशमा राजनीतिक स्थायित्व सम्भव हुने औंल्याएका छन् ।
‘अहिले नै गठबन्धन टुट्यो भन्न मिलेन । सहमतिमा पुग्ने समय छ । मलाई लाग्छ, आजको संवाद र छलफलले नयाँ किसिमको वातावरण बन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै झाले भने ।
प्रधानमन्त्रीको आलोपालो स्वभाविक प्रक्रिया भए पनि सबभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्नु स्वाभाविक हुने पनि उनले औंल्याए । झाले भने, ‘प्रधानमन्त्रीमा प्रचण्डको दाबीलाई मैले अस्वाभाविक ठानेको छैन । दाबी गर्न पाउनुहुन्छ । तर दाबी गर्ने बित्तिकै प्रधानमन्त्री त बनिँदैन नि । १३८ सांसदको हस्ताक्षर भएपछि मात्र प्रधानमन्त्री बन्न पाइन्छ । उहाँले जसको बलमा प्रधानमन्त्रीको दाबी गर्नुभएको छ, उसले प्रधानमन्त्री, राष्ट्रपति, सभामुख आदि सबै पद अरुलाई नै सुम्पियो भने जनमतको पनि अपमान हुन्छ । त्यसैले कांग्रेसको अडान र दाबी स्वाभाविक हो ।’
असहज परिस्थितिमा सहमति, सहकार्य र विवेकपूर्ण निर्णय हुन नसकेन अर्कै परिस्थिति निर्माण हुने पनि उनले औंल्याए । झाले भने, ‘चुनाव अघि सँगै रहेर अहिले सत्ता गठबन्धनबाहिर जानुभयो भने उहाँहरुको व्यक्तित्व, अनुहार विश्वसनीय हुँदैन । मुलुक अनपेक्षित दिशातिर जान सक्छ । कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, लोसपा र राजमा एक ठाउँमा भएर नै मतपरिणाम बहुमतनजिक पुगेको हो । सँगै भएर नै हामीले शक्ति आर्जन गरेका हौं । गठबन्धनमा बसे न लाभ पाउन सकिन्छ ।’
लोसपा नेता झाले शेरबहादुर देउवालाई गलाउनका लागि प्रचण्डले नेगोसिएसनको कार्ड फालेको पनि बताए । उनले भने, ‘विषम परिस्थितिमा प्रचण्डले पार्टी जोगाउनुभएको छ । अहिले मानसिक प्रेसर दिएर देउवालाई गलाउन खोज्नुभएको हो, नेगोसिएसनको कार्ड फाल्नुभएको हो । उहाँले दुई वर्ष कुर्न सक्नुपर्छ ।’