Logo

पुरानो गुद्रीको खाली जग्गामा अस्थायी पार्किङ



काठमाडौँ,११ पुष । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित एवं विकसित बनाउने अभियानमा लागेको महानगरले पार्किङ व्यवस्थापनलाई तीव्रता दिएको छ । मुख्य बजार क्षेत्रमा पार्किङ ठाउँ अभावले सडकमै सवारी राख्दा आवतजावतमा समस्या हुनुका साथै सौन्दर्यतामा समेत ह्रास आएको छ । पार्किङ समस्या समाधान गर्ने उद्देश्यसहित महानगरले बजार क्षेत्रमा रहेका खाली जग्गामा पार्किङ व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ ।

महानगरले पुरानो गुद्रीमा रहेको प्रस्तावित २५ तले भवन निर्माणस्थललाई अस्थायी पार्किङका रुपमा प्रयोगमा ल्याउने भएको छ । त्यसका लागि महानगरले डोजर लगाएर जमिन सम्याइसकेको छ । भवन निर्माण सुरु नहुञ्जेल खाली रहेको जमिनमा अस्थायी पार्किङको व्यवस्थापन मिलाउन लागिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।

सो ठाउँमा आसपासका व्यापारी, सामान खरिद गर्न आउने उपभोक्ता तथा कामका सिलसिलामा आउने व्यक्तिका सवारी पार्किङ गरिनेछ । वर्षौंदेखि महानगरलाई कर नतिर्ने बजार क्षेत्रका प्रयोगविहीन खाली जग्गामा समेत पार्किङ बनाउनेगरी महानगरले काम अगाडि बढाइसकेको छ । खाली जमिनमा फोहर थुपार्दा बजारको सौन्दर्यकरणमा समेत ह्रास आएको भन्दै महानगरले पार्किङस्थल बनाउन सफाइ सुरु गरिसकेको प्रमुख कोइरालाले बताए ।

पार्किङस्थल नहुँदा बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा ठूलै चुनौती देखिएको थियो । महानगर प्रमुख नागेश कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउनका लागि सहयोग गर्न महानगरवासीलाई आग्रह गर्दै आएका छन् । उनले विराटनगरमा औद्योगिक प्रदर्शनीस्थलका लागि पनि जग्गा उपलब्ध गराउने घोषणा गरेका छन् । जग्गाको अभावमा स्थायी संरचना बन्न नसकेको प्रदर्शनीस्थलका लागि अस्थायी संरचना निर्माण गर्न उद्योगी एवं व्यापारीले ठूलो आर्थिकभार व्यहोर्नु परेका कारण उद्योगी र व्यवसायीको आग्रहमा महानगरले स्थायी संरचनाका लागि जग्ग्गा उलब्ध गराउने र यसका लागि आवश्यक तयारी एवं छलफल गर्न सरोकारवालालाई अपिल गरेका छन् । रासस

 

 



प्रतिक्रिया दिनुहोस्