काठमाडौं, पुस १२ । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । महासंघका पदाघिकारीले प्रधानमन्त्री दाहालको निजी निवास खुमलटारमै पुगेर भेटवार्ता गरेका छन्।
महासंघले र प्रधानमन्त्रीबीचको भेटवार्तामा अर्थतन्त्रको संवेदनशीलताका विषयमा कुराकानी भएको महासंघले जनाएको छ ।
उक्त अवसरमा अध्यक्ष गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रुपमा देखा परेको चालू पूँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन्।
मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा अध्यक्ष गोल्छाले जोड दिएको महासंघले जनाएको छ ।
अर्थतन्त्रमा बहुआयामिकमा असर परेको, मौद्रिक नीतिको समीक्षामार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र वैकिङ समस्याको कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न समेत महासंघले आग्रह गरेको छ ।
प्रधानमन्त्री दाहालसँगको भेटमा पछिल्लो समय राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको, मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्र नै अहिले सङ्कुचित हुँदै गएको यथार्थताबारे समस्या राखेका छन् ।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषदको पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय समेत भैसकेको बताएका छन् । अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मानका साथ प्राथमिक्तामा राख्ने उनको भनाई ।
प्रधानमन्त्री प्रचण्डले महासंघकातर्फबाट यसअघि दिइएको सुझाव अध्ययन पनि गरिरहेको र यस विषयमा अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने विश्वास दिलाएको महासघंले जनाएको छ ।