काठमाडौं, पुस १३ । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र संसदीय दल नेता चयन र सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे विवाद चर्किंदै गएको छ । चर्किंदो विवादसँगै दल नेता चयनका लागि आज निर्वाचन हुँदै छ भने ‘सरकारमा सहभागी हुनेबारे समेत कार्यकारिणी समिति बैठक बस्दै छ ।
जसपाबाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दलले दल नेता सर्वसम्मत चयन गरिसकेका छन् । सर्वसम्मत नभएपछि नेपाली कांग्रेसले निर्वाचनबाटै दल नेता चयन गरिसकेको छ । तर, जसपाले अझै चयन गर्न सकेको छैन ।
दलका नेताका लागि जसपा संघीय परिषद् अध्यक्ष अशोक राई, कार्यकारिणी समिति सदस्यद्वय रामसहाय यादव र राजकिशोर यादव प्रतिस्पर्धामा छन् । निर्वाचन समितिले दल नेता चयनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
सो कार्यतालिकाअनुसार आज बुधबार उम्मेदवारी दर्तादेखि मतदानसम्म कार्यक्रम छन् । जसपा सांसद प्रदीप यादव दल नेता चयन सर्वसम्मत गर्ने प्रयास जारी रहेको बताउँदै ‘यदि त्यसो हुन नसके लोकतान्त्रिक प्रक्रियाअनुसार मतदानबाटै चयन हुने सुनाउँछन् ।
प्रतिनिधिसभा सदस्यमा सप्तरी २ बाट पार्टी अध्यक्ष उपेन्द्र यादव जनमत पार्टी अध्यक्ष डा सिके राउतसँग पराजित भएका छन् । यादव पराजित भएपछि दलको नेता आफ्ना ‘एस म्यान र यादव समुदायबाटै बनाउन खोज्नुले सर्वसम्मत हुन नसकेको जसपाका एक नेताले बताए । उपेन्द्रले दल नेताका लागि रामसहाय यादवलाई अघि सारेका छन् । राजधानी दैनिकबाट