काठमाडौँ,१५ पुष । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ जातिको महान् चाड तमु ल्होसारको सुखद् अवसरमा देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
“तमु ल्होसार पर्व गुरुङ जातिले नयाँ वर्ष सुरुआतको रूपमा मनाउने गर्दछन् । दाजुभाइ आफन्त, नाताकुटुम्ब भेला भएर सामूहिकरूपमा खाना खाने यो पर्वमा मौलिक सांस्कृतिक नाचगान गर्ने, मान्यजनबाट आशीर्वाद लिने, परम्परागत जातीय वेषभूषा लगाउने चलन छ । यो पर्वका बेला घाटु, सोरठी र चुड्का भनेर प्रचलित कौडा नाचेर आफन्त, परिवार र साथीभाइसँग रमाइलो गरिन्छ मुख्यमन्त्री राईको शुभकामना सन्देशमा उल्लेख छ ।
नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको छ । यो मुलुक सांस्कृतिक परम्पराको दृष्टिकोणले सम्पन्न मुलुक हो । विभिन्न भाषा, संस्कृति, वेषभूषा, संस्कारसहित आ–आफ्नो जातीय पहिचान मानव सभ्यताका आधार स्तम्भ हुन् । यस्तो विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो मुख्यमन्त्री राईले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित संसारभरि फैलिएर रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा तमु ल्होसारका अवसरमा उनले हार्दिक शुभकामना व्यक्त गरेका छन् । रासस