Logo

झलनाथसँग उपेन्द्र यादवको पार्टी एकताकेन्द्रित भेटर्वार्ता, सरकारमा सहभागी हुनेबारे पनि छलफल



काठमाडौं, १५ पुष । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन् । खनाललाई भेट्न यादव आज अपरान्ह डल्लु पुगेका थिए । दुई नेताबीच पार्टी एकताबारे छलफल भएको उच्च स्रोतको दाबी छ ।

चुनावअघि नै दुई पार्टीबीच एकताको प्रयास भएको थियो । तर, एकता गर्दा समाजवादी केन्द्र बनाउने कि वाम एकता भनेर जाने भन्ने विषयमा विवादका कारण एकता प्रक्रिया रोकिएको दुवै पक्षको दाबी छ ।

चुनावको परिणाम आइसकेको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भएको अवस्थामा दुई दलले एकता प्रक्रियालाई पूनः नयाँ ढंगले थालेका छन् । आज भएको दुई नेताको भेटवार्तामा पनि समाजवादी केन्द्र की वाम धु्रवीकरण भन्नेमा सहमति हुन नसकेको बताईएको छ । खनाल वाम ध्रुवीकरणको पक्षमा छन् । तर, यादव भने ०७४ मा नै एमाले–माओवादी एकतासँगै वाम गठबन्धन बनाउँदा त्यो प्रयोग सफल नभएकोले समाजवादी केन्द्र बनाएर जानुपर्ने अडानमा छन् ।

जसपाले भोलिबाट सुरु हुने कार्यकारिणी समितिको बैठकमा नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकताको प्रक्रियाबारे छलफल चलाउने बुझिएको छ । यसको साथै, दुवै दलले एकतापछि नै प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता जनाउने तयारी गरेका छन् । यादव मंसिर ४ गतेको निर्वाचनमा पराजित भएका छन् । उनको दलमा संघीय परिषद् अध्यक्ष अशोक राई एमालेसँग सहकार्य गर्ने पक्षमा छन् । अहिले पार्टीमा यादव र राईबीच शक्ति–संघर्ष चर्किएको छ । यादव भने आफ्नो राजनीतिक अस्तित्व जोगाउनको लागि नै एकीकृत समाजवादीसँग पार्टी एकता गरेर अघि बढ्न चाहन्छन् ।

यसअघि प्रधानमन्त्री दाहालले यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गरिसकेका छन् । सो भेटमा दाहालले दुवै नेतालाई आफ्नो सरकारमा सहभागिता जनाउन आग्रह गरेको बुझिएको छ। यादव र नेपाल दुवैले सरकारमा सहभागिता हुनेबारे सकारात्मक जवाफ दिएको र विश्वासको मत पनि दिने जवाफ दिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्