काठमाडौं, पुस १६ । वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि मध्यपूर्वका मुलुक र मलेसिया पहिलो गन्तव्य बन्दै आएका छन् । यी मुलुकमा हाराहारीको जस्तै संख्यामा नेपाली कामदार जाने गरेका थिए । तर यो वर्ष मलेसियामा भने नेपालीको ओइरो लागेको छ ।
मध्यपूर्वका कतार, साउदी, यूएईलगायतका देशमा जाने नेपालीको संख्या ५० हजार नपुग्दा मलेसियामा जानेको संख्या १ लाख ३० हजार नाघेको छ । यी श्रम गन्तव्यमा विगतका वर्षहरुमा यस्तो धेरै फरकमा नेपालीहरु जाने गरेका थिएनन् । यो फराकिलो अन्तर पहिलो पटक बनेको हो । पछिल्लो समय मलेसियामा नेपालीको आकर्षण बढेपछि कतार र साउदी अरब जाने युवाको संख्या घट्दै गइरहेको छ ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो कात्तिकसम्म एक लाख ३० हजार ३०९ जना नेपाली मलेसिया गएका छन् । गत वर्ष कात्तिकसम्म २७ हजार १ सय ३२ जनामात्र नेपाली मलेसिया गएका थिए । गत वर्षको तुलनामा यो ३७९.१३ प्रतिशत वृद्धि हो । मलेसियामा नेपालीको ओइरो लागेपछि साउदी अरब र कतार जाने नेपालीको संख्या घटेको छ । कारोबार दैनिकबाट