काठमाडौं, पुस १७ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ईस्वी संवत् २०२३ ले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।
अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को उपलक्ष्यमा आज शुभकामना सन्देश जारी गर्दै उनले नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको बताएका हुन् । ‘एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्शालाई पूरा गर्न चाहन्छ,’ उनले सन्देशमा भनेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एमालेले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सबै आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनूदित गर्न चाहेको बताए ।
‘हामी जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त गरिबीरहित, सुशासित, आधुनिक, समृद्ध र सुविधासम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रूतगतिमा अघि बढाउन चाहन्छौं,’ उनले सन्देशमा भनेका छन् ।
समृद्ध नेपाल, सुखी नेपालीको यस राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सुस्थिर राजनीति अपरिहार्य रहेको उल्लेख गर्दै ओलीले त्यसका लागि आ–आफ्ना ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल र पक्षहरूसँग आग्रह पनि गरेका छन् ।
‘व्यक्ति र समूहका निजी दुराकाङ्क्षहरूले सिर्जना गर्न सक्ने अवरोधलाई पन्छाउँदै मुलुक निर्माणको प्राथमिकतामा केन्द्रित हुन सबैलाई आग्रह गर्दछु,’ उनले सन्देशमा भनेका छन् ।